काठमाण्डौ ।

गीतकार सङ्घ नेपालले आफ्नो १६औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा सक्रिय आधा दर्जनभन्दा बढी स्रष्टाहरुलाई सम्मान गरेको छ। बुधबार राजधानीको पिंगलास्थानस्थित वेस्ट वेष्टर्न प्लस होटलमा सम्पन्न समारोहमा नेपाली गीत–सङ्गीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका स्रष्टाहरुलाई नगदसहित सम्मान गरिएको हो।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकलाई “अमर भावना राष्ट्रिय स्रष्टा सम्मान” प्रदान गरिएको थियो। रसिकलाई नगद एक लाख ५१ हजारसहित सम्मान गरिने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उनी समारोहमा सहभागी हुन सकेनन्। त्यसपछि सङ्घका अध्यक्ष वसन्त बित्याशी थापासहितको टोलीले रसिककै निवासमा पुगेर औपचारिक रूपमा सम्मान प्रदान गर्‍यो।

‘नखेल्नु जुवा र तास’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’ र ‘रातो भाले क्वायँक क्वायँक’ जस्ता गीतबाट परिचित रसिकले नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन्।

यस वर्षको “डायस्पोरा गीतकार सम्मान” अमेरिकाको टेक्सासमा बसोबास गरिरहेका गीतकार दिलिप योञ्जन तामाङलाई प्रदान गरिएको छ। उनलाई नगद १५ हजार, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरियो। नेपाली गीत–सङ्गीतलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न विदेशबाट योगदान दिएकोमा योञ्जनलाई सम्मान गरिएको हो।

“विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान” मगर भाषाका गीतकार सञ्जोग लाफा मगरलाई प्रदान गरियो। उनले नगद २५ हजार २ सय ५२ सहित सम्मानपत्र र दोसल्ला प्राप्त गरे।

बौद्धिक सम्पत्तिको संरक्षणमा योगदान पुर्‍याएको भन्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङलाई “बौद्धिक सम्पत्ति संरक्षण सम्मान” प्रदान गरिएको छ। त्यसैगरी, ८० वर्ष नाघेका गीतकार हरिभक्त बुढाथोकी र सङ्घका लागि जिन्सी सामान सहयोग गरेका एलेन ठुलेलाई पनि सम्मान गरिएको छ।

यसपटकको “भैरवनाथ रिमाल कदम वर्ष गीत पुरस्कार” दुई गीतलाई संयुक्त रूपमा प्रदान गरिएको छ। डा. ओमकृष्ण प्रसाईको ‘म त सिधा साधा छु’ र ध्रुव खनालको ‘कुन दैबको साइतमा जन्मेछु’ गीतहरू समान अङ्क प्राप्त गर्दै प्रथम घोषित भएका हुन्। दुबैलाई ५७ हजार रुपैयाँ राशिको पुरस्कार दिइएको हो।

अन्य उत्कृष्ट गीतहरूमा डम्बर यक्सो, मनुहाङ किराँती, राम भट्टराई, सुरेश थापा, सरला श्रेष्ठ, अमरदीप सुनुवार, सुनिता बस्नेत थापा र सरोज अर्यालका गीत समावेश थिए।

गीतकृति पुरस्कारतर्फ हिमांशु रायको “कोलाज गीत” र त्रिविक्रम पाण्डेको “अंशियार” कृति संयुक्त रूपमा सर्वोत्कृष्ट घोषित भए। दुबै स्रष्टाले नगद ५७ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे।

समारोहको अध्यक्षता सङ्घ अध्यक्ष वसन्त बित्याशी थापाले गरेका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि थिए। कार्यक्रमको सञ्चालन रेडियोकर्मी हेम सुवेदीले गरेका थिए।

तपाईको प्रतिक्रिया