नेपाली सिनेमा ‘माइतीघर’ को बहुप्रतीक्षित टाइटल गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ को छायांकन सुरु भएको छ। नेपाली सांगीतिक इतिहासमा एक कालजयी गीतको रूपमा दर्ज भएको यो गीतलाई अहिले पुनः फिल्म ‘माइतीघर’का लागि रेकर्ड गर्दै भिजुअल निर्माण थालिएको हो।

छायांकन स्थलबाट सार्वजनिक भएका तस्विरमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा परम्परागत भेषभूषामा कोरस डान्सरसँगै प्रस्तुत हुँदै गरेको देखिन्छ।

गीतको पुनःनिर्माणमा कुनै कसर बाँकी नराखिएको निर्माता रोहित अधिकारी बताउँछन्। गीतको मर्म ज्यूँका त्यूँ राख्नका लागि बलिउडकी चर्चित गायिका संजिवनीको स्वरमा यो संस्करण रेकर्ड गरिएको हो। भिडियो पक्ष पनि उत्कृष्ट बनाउन मात्रै यो गीतको छायांकनका लागि चार दिनको विशेष सेड्युल तय गरिएको छ।

गीतको छायांकन बागलुङको कालिका मन्दिर परिसरमा सुरु गरिएको छ। कमल राईको कोरियोग्राफीमा प्रस्तुत यो गीतमा किरण खरेलको शब्द र जयदेवको संगीत रहेको छ।

फिल्म ‘माइतीघर’मा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

फिल्मको निर्देशन मिलन तामाङले गरिरहेका छन् भने छायांकन सुसन प्रजापतिले सम्हालेका छन्। रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा रोहित अधिकारी, रविन शेरचन, र धीरज तामाङ निर्माता रहेका छन्।

तपाईको प्रतिक्रिया