अहिले नेपाली फिल्म ‘माइतीघर’को पोस्ट-प्रोडक्सन काम तीव्र गतिमा भइरहेको छ। अझसम्म यसको कुनै अफिसियल पोस्टर, टिजर, ट्रेलर वा गीत सार्वजनिक नभए पनि फिल्मले राम्रो चर्चा पाउन थालेको छ। मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको यो प्रतिक्षित फिल्मले अन्तर्राष्ट्रिय बजारमा निकै राम्रो प्रतिक्रिया पाउन थालेको छ।
यस वर्षको दशैंको फूलपातीबाट एकसाथ विश्वभर प्रदर्शनको तयारीमा रहेको ‘माइतीघर’को अष्ट्रेलिया राइट्स अत्यन्तै महँगो मूल्यमा बिक्री भएपछि फिल्मको विदेशी यात्रा प्रारम्भ भएको निर्माण पक्षले जनाएको छ। अष्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका प्रमेज धामी र प्रकाश गैरेले अधिकार खरिद गरेसँगै लगानीको ठूलो हिस्सा सुरक्षित भएको निर्माता टिमले खुलाएका छन्।
अफिसियल पोस्टरसमेत बाहिर नआएको अवस्थामा यति ठूलो डिल हुनु वितरकको विश्वास र बजारको चासोको संकेत हो। निर्माता अधिकारीले अन्य देशहरूमा पनि फिल्मको बिक्री प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको बताए।
फिल्मको कथा, कलाकारहरूको बलियो टिम र निर्माण युनिटको मेहनतका कारण यसले अन्तर्राष्ट्रिय बजारमा राम्रो माग पाएको बताइएको छ। सुसन प्रजापतिको छायांकनमा बन्ने फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङले लगानी गरेका छन् भने कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन्।
यसमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देलको अभिनय रहनेछ।