आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जनै हराएको मान्छे’को एउटा विशेष गीतको छायांकन मंगलबार राति बुढानिलकण्ठस्थित एक बैंक्वेटमा भइरहेको थियो। सो अवसरमा गायक थानेश्वर गौतमले “आधाआधी सपनाहरू भैदिएन पुरा” बोलको गजल गाउने दृश्यको सुट चलिरहेको थियो। हार्मोनियममा बसेर गायनमा मग्न थानेश्वर गजलको भावनामा यति गहिरो डुब्न पुगे कि एकाएक बेहोस भएर मञ्चमै ढले।
यो देखेर सेटमा रहेका प्राविधिक, पत्रकार र दर्शकहरु आत्तिएर तुरुन्तै उनलाई स्टेजबाट तल झारेर प्राथमिक उपचार गर्न थाले। पानी छर्किएर केहीबेरमै उनलाई होशमा ल्याइयो। होशमा आएपछि थानेश्वरले आफू गीतको भावनामा यति गहिरो पुगेको बताए कि त्यसले उनलाई मानसिक रूपमा विक्षिप्तजस्तै स्थिति सम्म पुर्याएको रहेछ।
सहायक निर्देशक मनीष राउतले जानकारी दिएअनुसार थानेश्वरको शरीरमा पानीको कमीका कारण यस्तो घटना भएको हो। स्वास्थ्य अवस्था सामान्य भएपछि पुनः छायांकन सुरु गरेर गीतको दृश्य पूरा गरिएको उनले बताए।
लोकप्रिय लोकगायक थानेश्वर गौतमको अभिनयसमेत रहेको यो फिल्म ‘जनै हराएको मान्छे’ अहिले द्रुत गतिमा प्रचारप्रसारसँगै प्रदर्शनको तयारीमा रहेको छ।