नेपाली चलचित्रको कथावाचनमा नयाँ स्वाद थप्ने उद्देश्यसहित निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ प्रोजेक्ट ‘मुनामदनको ब्रेकअप’ को घोषणा गरेका छन्। ग्रामीण परिवेशको प्रेमकथा लिएर आउन लागेको यो फिल्मलाई उनले नेपाली दर्शकका लागि नयाँ अनुभव हुने दाबी गरेका छन्।
फिल्मको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने कार्यकारी निर्माता श्रीधर पौडेल छन्। यसअघि उनीहरूले ‘गोपी’ जस्तो सफल चलचित्रमा सँगै काम गरेका थिए। त्यो फिल्मपछि तीनै जनाको टोली फेरि एउटै प्लेटफर्ममा जुटेको हो।
फिल्ममा मुख्य भूमिकाका लागि अभिनेता राज कटवाललाई अनुबन्ध गरिएको छ। उनले पछिल्लो पटक ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए। निर्देशक लामाका अनुसार, “राज कटवालको व्यक्तित्व र अभिनय शैली यस फिल्मको पात्रमा एकदम फिट हुन्छ। हामी अहिले अन्य कलाकारहरू पनि कथाको आवश्यकताअनुसार चयन गर्दैछौं।”
कथाकार तिमल्सेनाले यो फिल्म नेपाली सिनेमामा अहिलेसम्म नदेखिएको खालको प्रेमकथा हुने बताए। उनले भने, “नेपाली दर्शकले यस्ता पात्र र कथा पहिले देखेका छैनन्। त्यसैले पटकथामा विशेष ध्यान दिइरहेका छौं, ताकि यो सिनेमा हलसम्म तान्न सकोस्।”
राज कटवालले आफूलाई यो भूमिकाले थप चुनौती दिएको बताए। “यो भूमिका मेरा लागि नयाँ स्तरको छ। अघिल्ला चलचित्रभन्दा अझ बढी मिहिनेत गरेर आफूलाई रूपान्तरण गर्न लागिरहेको छु,” उनले प्रतिक्रिया दिए।
फिल्मको छायांकन कास्की जिल्लाको ग्रामीण क्षेत्रमा हुने भएको छ। कार्यकारी निर्माता पौडेलका अनुसार, गुणस्तरमा कुनै सम्झौता नगर्न भन्दै अहिले प्रि-प्रोडक्सनलाई नै प्राथमिकता दिइएको छ। उनले भने, “हामी हतार नगरी, सबै कुरा पक्का भएपछि मात्र सुटिङ सुरु गर्ने योजनामा छौं।”
‘मुनामदनको ब्रेकअप’ नेपाली सिनेमामा नयाँ स्वाद र भिन्न कथा प्रस्तुति दिने अपेक्षा गरिएको छ।