कोरिया जाने ठूलो आशा बोकेर गाउँबाट काठमाडौं पसेको एक युवक उसको सपनाले पाएको धोका, प्रेम र सम्बन्धमा बाँधिएको मन, अनि जीवनका निराशाहरु। यी सबैलाई समेट्दै बहुप्रतिक्षित फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ।

टिजरको सुरुवात परम्परागत बिहेको झलकले हुन्छ। त्यहीँबाट विजय बरालले आफ्नो यात्रा सुरु गर्छन्, जुन कोरिया पुग्ने सपना देखेर शुरू भए तापनि बुवासँगको टकराव र काठमाडौंको ठगीको चक्रमा परेर जीवन नै दिशाहीन बन्न पुग्छ।

टिजरले “देश बाहिरको यात्रा, तर मनभित्रको द्वन्द्व”लाई गहिरो तरिकाले देखाउँछ।

यो कथा केवल विदेशको सपनामै अडिएको छैन, यसमा प्रेमका संवेदनशील तहहरू, सम्बन्धका चिसा तातो छायाहरू पनि छन्। टिजरमा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा देखिएका छन्।

फिल्म हिमाल न्यौपानेको निर्देशनमा तयार भएको हो। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। पेपरक्लिप ब्यानर अन्तर्गत कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका फिल्ममा मनिष राउत असोसियट निर्देशकको भूमिकामा छन्। कार्यकारी निर्माताहरूमा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

फिल्मको टिजर र ट्रेलर शाहिल खानले तयार गरेका छन् भने सुप्रिम पराजुलीले कलर, सुनील क्षेत्रीले कोरियोग्राफी र चुल्ठे काजीले एक्सन निर्देशन सम्हालेका छन्।

तपाईको प्रतिक्रिया