नेपाली फिल्म उद्योगमा भाग्यमानी अभिनेत्रीका रूपमा परिचित मिरुना मगर फेरि हिट चलचित्रको ह्याट्रिक बनाउन नजिक पुगेकी छन्। ‘कबड्डी–४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ लगातार हिट दिएपछि मिरुनाले दोस्रो ह्याट्रिकको तयारी गर्दै छिन्।

अब उनी अभिनीत नयाँ चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गते रिलिज हुँदैछ। यदि यो फिल्म पनि सफल भयो भने मिरुनाका लागि यो दोस्रो हिट ह्याट्रिक हुनेछ।

सामाजिक र पारिवारिक कथामा आधारित यो चलचित्रमा आम नेपाली समाजको कथा, भावना र यथार्थ झल्किने निर्माण पक्षको दाबी छ। मिरुना भन्छिन्, “पहिलाका सफल चलचित्रजस्तै यस फिल्मबाट पनि निकै आशा राखेको छु। सकारात्मक ऊर्जा महसुस भइरहेको छ।”

फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका छन् भने ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत सह–निर्देशकका रूपमा प्रस्तुत भएका छन्। राउतका अनुसार फिल्मले निम्न तथा मध्यम वर्गीय नेपाली समाजको प्रतिनिधित्व गर्नेछ।

“हामी सबैको जीवनमा केही न केही हराएको हुन्छ कहिले सम्बन्ध, कहिले अस्तित्व,” राउतले बताए, “त्यसैले मिरुना मगरलाई जोडिएको हो, जसको अभिनयमार्फत दर्शकले आफ्नै पीडा महसुस गर्न सकून्।”

फिल्ममा मिरुनासँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा लगायतको अभिनय रहेको छ।

कमल न्यौपाने र विमल न्यौपाने निर्माताका रूपमा रहेका छन् भने कार्यकारी निर्माता नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर लगायत छन्।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको योगदान रहेको छ।

 

तपाईको प्रतिक्रिया