नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। यसैको प्रचार–प्रसारको क्रममा निर्माण टिमले जनै पूर्णिमाको अवसर पारेर शनिबार यसको ट्रेलर सार्वजनिक गरेको छ।
ट्रेलरले आर्थिक कठिनाइले कोरिया जान खोज्ने एक युवकको जीवनकथा देखाउँछ। मुख्य पात्र विजय बरालले बुबाको ऋण तिर्ने र परिवारलाई सुख, सुविधा दिने सपना बोकेर विदेश जाने तयारी गर्छन्। तर, काठमाडौं आइपुग्दा ठगिँदै उनी अप्रत्याशित समस्यामा फस्छन् र संघर्षको नयाँ यात्रा सुरु हुन्छ।
यस बीचमा मिरुना मगरसँगको प्रेम सम्बन्ध र दिदी केकी अधिकारीको वैवाहिक पीडाले कथालाई भावनात्मक र जीवन्त बनाएको छ। निम्नमध्यम वर्गको वास्तविकता, सपना र बाधाहरूलाई मुख्य पृष्ठभूमि बनाइएको यो चलचित्रमा मिरुना मगर, विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी लगायतको अभिनय देख्न पाइन्छ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने निर्देशन हिमाल न्यौपानेको हो। निर्माण कार्य कमल न्यौपाने र विमल न्यौपानेले गरेका छन्।







































































