नेपाली फिल्म ‘माइतीघर’ असोज १३ गते, फूलपातीको दिनबाट देशभर प्रदर्शनमा आउन लागेको छ। तर यसको रिलिज मितिभन्दा अघि नै फिल्म चर्चामा छ – विशेषतः यसको शीर्ष गीतसँग जोडिएको नृत्य प्रतियोगिताले दर्शकहरूमा अत्यधिक उत्साह पैदा गरेको छ।

सोमबारबाट सुरु भएको उक्त प्रतियोगितामा सुरुको २४ घन्टाभित्रै हजारौं भिडियो निर्माण पक्षसम्म पुगेका छन्। निर्माता रोहित अधिकारीका अनुसार, यो प्रतियोगितामा दर्शकको ‘अप्रत्याशित सहभागिता’ देखिएको छ। सामाजिक सञ्जालमार्फत ओएसआर डिजिटलमा अपलोड भएका भिडियोहरूमा हालसम्म १५ देखि २० लाख भ्यूज भइसकेका छन्।

रोहित अधिकारी भन्छन्, “दर्शकको यो प्रतिक्रियाले हाम्रो टिमलाई अझ बढी ऊर्जा दिएको छ।”

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्। सुरुमा मात्र प्रथम हुनेलाई पुरस्कार दिने भनिए पनि अब निर्माण पक्षले दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने सहभागीलाई पनि पुरस्कार दिने निर्णय गरेको छ। साथै, कसैले पनि खाली हात नफर्कनुहोस् भन्ने भावना स्वरूप, अन्य उत्कृष्ट सहभागीहरूलाई समेत सम्मानित गरिने बताइएको छ।

गीतमा गायिका सञ्जिवनीको आवाज छ भने उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाको नृत्य प्रस्तुत गरिएको छ। कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेको नृत्यलाई दर्शकहरूले अत्यन्त रुचाएका छन्। गीतको छायांकन मानकृष्ण महर्जन र सुशन प्रजापतिले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।

फिल्म ‘माइतीघर’ मा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय देख्न पाइनेछ।

फिल्मको कथा चन्द्रकुमार दोङले लेखेका हुन् भने पटकथा र संवाद रामशरण पाठकको छ। निर्माणमा रबिन शेरचन र धिरज तामाङको लगानी रहेको छ। कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।

 

तपाईको प्रतिक्रिया