नेपाली फिल्म ‘सोल्टिनी’ जसले सामाजिक यथार्थ र अन्तरजातीय प्रेमको संवेदनशील कथा प्रस्तुत गर्दछ, कोशी प्रदेशका प्रमुख शहरहरूमा भव्य प्रचार गर्दै प्रदर्शनको संघारमा पुगेको छ। तिहारको देउसी-भैलोको अवसरमा ‘सोल्टिनी’ टिम देशभरि प्रचार यात्रामा निस्केको छ। यसक्रममा, लक्ष्मी पूजाको दिन (कार्तिक ३ गते) सुनसरीको इटहरीस्थित फुडशाला क्याफेमा आयोजित पत्रकार भेटघाटमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र परीक्षा लिम्बू सहितको टोलीले फिल्मका बारेमा जानकारी गराए।
अभिनेता प्रकाश सपुतले ‘सोल्टिनी’लाई “पूर्वेली समाजको सांस्कृतिक र जातीय विविधता र समाजका विभिन्न पाटोहरुलाई समेटेर बनाएको एउटा मिठो लयमा बुनेको मौलिक र अर्गानिक फिल्म” भनेर व्याख्या गरे। उनले फिल्मका मुख्य पात्रको रूपमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए।
त्यस्तै, पत्रकार भेटघाटमा नायिका परीक्षा लिम्बूले अभिनेता प्रकाश सपुतको खुलेर प्रशंसा गर्दै फिल्मको कथावस्तु उत्कृष्ट रहेको कारण दर्शकहरूको मन जित्न सफल हुनेमा आफू ढुक्क रहेको बताइन्। उनले ‘सोल्टिनी’को स्क्रिप्ट पढ्ने क्रममा यो फिल्ममा धेरै जिज्ञासा र विभिन्न पाटो समेटिएको महसुस गरेपछि यसमा काम गर्ने विचार गरेको अनुभव साझा गरिन्। पत्रकार भेटघाटमा प्रकाश सपुत र परीक्षा लिम्बू संगै अभिनेता र प्रोजेक्ट हेड सुजन खतिवडा, बालकलाकार शुभम् अधिकारी र हार्दिक पौडेल पनि उपस्थित थिए।
प्रचार यात्राको क्रममा टोलीले कार्तिक २ गते झापाको दमकमा देउसी-भैलो र सांगीतिक कार्यक्रम गरेपछि ३ गते इटहरीमा पत्रकार भेटघाट सम्पन्न गर्यो र सोही दिन साँझ धरानमा देउसी-भैलोसहितको कार्यक्रम पनि आयोजना गर्यो। कोशी प्रदेशको यो व्यस्त प्रचार तालिकापछि ‘सोल्टिनी’ टिम पोखरा प्रचार यात्रामा निस्किएको छ।
अर्जुन सुवेदी द्वारा निर्देशित यो फिल्मको कथा लेखनमा निर्देशक अर्जुन सुवेदी र कुमार भट्टराईको सहकार्य रहेको छ। फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बूसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले जस्ता कलाकारहरूको अभिनय रहेको छ।
रेजिना विष्ट र संसार चौलागाईं द्वारा निर्मित ‘सोल्टिनी’ मा रोशन चौलागाईं, वसन्त कटवाल र सुजन अधिकारी सहायक निर्माताका रूपमा संलग्न छन्। प्लानेट थ्री फिल्म र योलो इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म सामाजिक विभेद र अन्तरजातीय प्रेमका संघर्षलाई सशक्त रूपमा पर्दामा ल्याउने अपेक्षाका साथ सार्वजनिक गरिएको छ।