फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेर फिल्म क्षेत्रमा चर्चा कमाएका निर्देशक अनिल बुढा मगर अहिले आफ्नो दोस्रो फिल्म ‘मितज्यू’ को तयारीमा व्यस्त छन्। सोही क्रममा उनले फिल्मका कलाकारहरूलाई समेट्दै शनिबारदेखि कार्यशाला (वर्कसप) सुरु गरेका छन्।

वर्कसपमा तेरिया फौजा मगर, पुश्कर गुरूङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारहरूको सक्रिय सहभागिता रहेको छ भने निर्देशक मगरका अनुसार कलाकारहरूले फिल्ममा निभाउने पात्रलाई अझ गहिरोसँग बुझून् र अभिनय प्रभावकारी होस् भन्ने उद्देश्यले वर्कसप आयोजना गरिएको हो। वर्कसप केही दिनसम्म चल्ने उनले जानकारी दिए।

फिल्मका निर्माता जनक घर्ती मगर ले पनि वर्कसपलाई फिल्मको महत्वपूर्ण तयारीको चरणका रूपमा लिएका छन् त्यस्तै उनका अनुसार पात्र, कथा र भावनात्मक पक्षबारे कलाकारलाई स्पष्ट बुझाइ दिनु वर्कसपको मुख्य लक्ष्य हो। “कलाकारहरूले भूमिका राम्रोसँग बुझेपछि छायांकन सहज हुन्छ र  यसले समय र खर्च दुवै बचत गर्नुका साथै अभिनयलाई अझ प्रभावकारी बनाउँछ,” निर्माता घर्ती मगरले बताए।

फिल्म ‘मितज्यू’ को छायांकन माघको पहिलो साताबाट सुरु हुने तयारी गरिएको छ। रोल्पाका विभिन्न स्थानमा खिचिने यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुश्कर गुरूङ, शिशिर वाङ्देल, सविन कट्टेल, पवित्रा खड्का, अरुण पुन मगर, उत्तम राज पाण्डे, उमेश सोनाम, चाहाना राना मगर, अनुशा राई, खड्क बहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ भने फिल्मको छायांकनको जिम्मा शिशिर विशङ्खेले पाएका छन भने निर्माण टिमले फिल्मको प्रदर्शन मिति जारी गर्दै जेठ १५ गते, गणतन्त्र दिवसको अवसरमा ‘मितज्यू’ देशभर प्रदर्शनमा ल्याइने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया