सामाजिक सञ्जाल विश्वासको माध्यम बन्दै गएको बेला त्यही विश्वासलाई हतियार बनाएर ठगी गर्नेहरूको गतिविधि बढ्दै गएको छ। पछिल्लो समय चर्चित कलाकार स्वस्तिमा खड्का, केकी अधिकारी र धिरज मगरको नाम दुरुपयोग गरी नक्कली सामाजिक सञ्जाल अकाउन्टमार्फत ठगी भइरहेको खुलेको छ। ठगहरूले ती कलाकारहरूको तस्बिर, नाम र पहिचान प्रयोग गर्दै सहयोग, आपतकालीन अवस्था, प्रोजेक्ट सहयोगजस्ता बहाना बनाइ सर्वसाधारणसँग पैसा माग्ने गरेका छन्।
यसबारे जानकारी पाएपछि ती तीनै कलाकारले आफ्ना अफिसियल सामाजिक सञ्जालमार्फत स्पष्ट चेतावनी जारी गरेका छन्। कलाकारहरूले आफूहरू कुनै पनि हालतमा व्यक्तिगत म्यासेजमार्फत पैसा नमाग्ने स्पष्ट गर्दै यस्ता नक्कली अकाउन्टबाट आएको सन्देशमा नपर्न सबैलाई आग्रह गरेका छन् । साथै, यस्ता अकाउन्ट भेटिएमा रिपोर्ट गर्न र अरूलाई पनि जानकारी गराउन अनुरोध गरेका छन्।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै हुने यस्ता ठगीका घटनाले कलाकार मात्र होइन, आम प्रयोगकर्ताको सुरक्षा पनि चुनौतीमा परेको देखिन्छ। त्यसैले कुनै पनि व्यक्तिको नाममा आएको आर्थिक मागप्रति सतर्क रहनु अहिलेको आवश्यकता बनेको छ।




































