विश्वभर फुटबलप्रेमीहरू विश्वकपको उत्साहमा रमाइरहेका बेला गायक सुपर सुरेश (सुरेश कार्की) ले आफ्नो नयाँ म्युजिक भिडियो ‘गोल गोल’ सार्वजनिक गरेका छन् । ‘रेश्मा’ गीतबाट चर्चा कमाएका सुरेशले लामो अन्तरालपछि नयाँ सांगीतिक उपहार लिएर दर्शकमाझ फर्किएका हुन् ।


विश्वकपको माहोललाई लक्षित गर्दै जेठ २८ गते युट्युबमार्फत सार्वजनिक गरिएको गीतले फुटबल उत्सवको रौनकलाई अझ बढाउने विश्वास निर्माण पक्षको छ । सुरेशका अनुसार यो गीत तयार पार्ने यात्रा सहज भने थिएन । निर्माण प्रक्रियाका क्रममा टिमका एक सदस्यको परिवार गम्भीर स्वास्थ्य समस्यासँग जुध्नुपरेको थियो भने विभिन्न प्राविधिक चुनौतीहरूले पनि काम प्रभावित बनाएको थियो ।

यिनै अवरोधबीच गीतलाई पूर्णता दिन करिब १६ महिना लागेको सुरेश बताउँछन् । उनले कठिन परिस्थितिका बाबजुद उच्च अपेक्षासहित ‘गोल गोल’ दर्शकमाझ ल्याएको बताए । गीत सार्वजनिक हुनुअघि जेठ २७ गते चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको आयोजनामा विशेष कार्यक्रम गरी यसको औपचारिक रिलिज तथा प्रिमियर गरिएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मी र कलाकर्मीहरूले भिडियोप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।


‘गोल गोल’को शब्द, संगीत र स्वर स्वयं सुपर सुरेशकै रहेको छ । अडियो निर्माण, निर्देशन तथा सम्पादनको जिम्मेवारी अशेष लुइटेलले सम्हालेका छन् । लुइटेल ब्रोज र फोटो क्लिकर्सको ब्यानरमा निर्माण गरिएको भिडियोमा पवन सिग्देलको छायांकन रहेको छ भने हिमेश तिमल्सिनाले मुख्य सहायक निर्देशनसँगै मोसन तथा पोस्टर डिजाइनको काम गरेका छन् ।

यस्तै, कलर, सहायक सम्पादन तथा डीआईटीमा जेसिस भट्टराई, प्रोडक्सन म्यानेजरमा रत्न बहादुर कार्की तथा सहायक प्रोडक्सन म्यानेजरमा रबिन दाहाल रहेका छन् । स्वास्थ्य चुनौती, लामो प्रतीक्षा र निरन्तर मेहनतपछि तयार भएको ‘गोल गोल’ले विश्वकपको उत्साहबीच दर्शकलाई मनोरञ्जन प्रदान गर्दै ‘रेश्मा’कै जस्तो सफलता हासिल गर्ने अपेक्षा निर्माण टिमले गरेको छ ।

तपाईको प्रतिक्रिया