काठमाडौँ। गत शुक्रबार बंगलादेशको ढाका गएको नेपाली साहित्यकारहरुको टोली नेपाल फर्किएको छ । ढाकामा आयोजित साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर उक्त टोली स्वदेश नेपाल फर्किएको हो।

कार्यक्रममा साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन कार्यक्रमको आयोजना गरिएको जानकारी गराइएको थियो भने सोही कार्यक्रममा नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, गीतकार पुष्पा खनालको म्युजिक भिडियो “यो आँखाको पानीलाई” सार्वजनिक गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका उपसभामुख मो. फैजल रब्बी मियाले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुटसम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको उल्लेख गरे । उनले सङ्गीत भनेको विश्वव्यापी भाषा भएको पनि बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसालले आफू राजदूत भएर बंगलादेश आउँदा कुनै अनौठो अनुभूति नभएको र यो आफ्नै दोस्रो घर जस्तो लागेको बताउँदै यो सबै दुई देशबीचको सामाजिक, सांस्कृतिक समानता कारण भएको बताउनुभयो ।
बीसौँ वर्षअघिदेखि यहाँका मानिस र संस्कृतिसँग आफू जोडिएको भन्दै कवि मञ्जुलले बंगलादेशी साहित्यकार तथा त्यहाँका जनता अत्यन्तै सहयोगी, मित्रवत् भएको बताए ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष मो. इम्दादुल हक, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, पुष्पा खनाललगायतले बोलेका थिए ।

चारदिने भ्रमणको क्रममा टोलीले ढाका विश्वविद्यालय, जहाँगिर विश्वविद्यालय, शहिद मिनार, बंगलादेशको संसद, राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधि, ढाकेश्वरी मन्दिर, केन्द्रीय शहिद स्मारकलगायतका महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गरेको थियो ।

तपाईको प्रतिक्रिया