काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणको दायरा बढाउदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो ।
सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको र सोमबार मात्रै ७६ वटाको नमुना परीक्षण भएको बताए ।
सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण सुरु भईसकेको र सोमबारसम्म १९ वटा नमुना परीक्षण भईसकेको पनि उनले जानकारी दिए । डाक्टर देवकोटाका अनुसार, सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भईरहेको छ । धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाईएको छ ।
मन्त्रालयले बुटवलमा दुवईबाट आएका ३४ बर्षिय पुरुषको मृत्यु कोरोना भाइरसका कारण नभएको पुष्टि गरेको छ । ती व्यक्तिको स्वाव परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिए । पाटन अस्पतालमा मृत्यु भएका ३६ बर्षिय पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उनले स्पष्ट पारे ।
अहिले सम्म कोरोना संक्रमण देखिएका ४ वटै पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको हाल सम्म गरिएको परीक्षण नेगोटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।
गृहमन्त्रालयको स्रोतबाट प्राप्त जानकारी अनुसार अहिले सम्म प्रदेशहरुमा ९३ जना आईसोलेसनमा रहेको र २ सय १७ वटा नमुना संकलन भएको पनि डाक्टर देवकोटाले जानकारी दिए।
उनले प्रत्येक प्रदेशमा १ हजार सेट पीपीइ, १० हजार भन्दा बढी मास्क, २० हजार भन्दा बढी ग्लब्स पठाईएको जानकारी दिए । उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुदै पठाईएको बताए । त्यसैगरी, क्लोरिन र अन्य सामाग्रीहरु पनि सबै प्रदेशलाई पठाईएको पनि उनले जानकारी दिए ।
स्थानीय तहमा रहेका विदेशबाट आएका व्यक्तिहरु मध्ये अहिले सम्म ४१ हजार १ सय ४० जनाको लिखित विवरण अद्यावधी गरिएको पनि उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न आग्रह गरे । जो मर्यो त्यो कोरोनाले मर्यो भन्ने किसिमको प्रचार प्रशार हुनु दुःखद भएको उनले बताए ।
कोरोना संक्रमण भईसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न उनले आग्रह गरे ।