मलाई माया गर्ने, घृणा गर्ने सबै सबैलाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गाली स्वभाविक हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु । मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियोहरु मन पराइदिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडियोहरु गरिरहेको छु । चार वर्ष अघि किशोरावस्थामा रमाईरहेकी एउटा किशोरीले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ । मेरो परिचयमा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न, सम्झाउन तपाईहरुलाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला । आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेरभन्दा बढी परिपक्व हुने कोसीस चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसैको एउटा प्रतिफल हो ।

 

साँच्चै भन्ने हो भने नायिका बन्छु, अहिले जस्तो चर्चित हुन्छु भन्ने मलाई तीन वर्ष अगाडिसम्म थिँदै थिएन । करिब चार वर्ष अघि चलचित्र नाइ नभन्नु ल ४ मा छानिँदै गर्दा पनि यति छिट्टै यति धेरै चलचित्रको अफर आउला, म्युजिक भिडियोको बाढी लाग्ला भन्ने फिटिक्कै लागेको थिएन । मिस प्लस टु हुँदै गर्दा नै सुन्ने गर्थें, मोडलहरुले नायिका बन्न गरेको संघर्षका कथा । त्यसैले मलाई यो रंगीन दुनियाँ भन्दा समाजिक सेवा नै उत्तम लाग्थ्यो । सोहि विषयसँग नजिक रहेर अध्ययन गरेँ । केही अनुभव पनि बटुलें । अनि कुनै अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले गर्ने सामाजिक कामहरुमा आवद्ध भएर समाजसेवासँगै दाम कमाउँछु भन्ने सोच राखेकी थिएँ ।

 

तर, सोचे जस्तो किन हुन्थ्यो र जीवन । यद्यपि, म जुन बाटोमा अहिले हिँडीरहेको छु त्यसमा म झनै खुशी छु । किनकी आफुले सोचेको भन्दा फरक गन्तव्यमा यात्रा गर्दा केहि दुख त होला तर छुट्टै आनन्द भने मिल्दो रहेछ । केही मेरो कर्मको फल अनि केही चाहिँ भाग्यको खेल भन्नुपर्छ, छोटो भूमिका नै किन नहोस्, मैले सुरुमै गतिलो ब्यानरसँग काम गर्ने मौका पाएँ । त्यो भन्दा ठूलो कुरा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर युवायुवतिको ढुकढुकी बनिसक्नुभएको पलजीसँग जोडी भएर देखिन पाएँ । पलजीलाई दर्शकले म्युजिक भिडियोहरुमा यसै पनि मन पराइसक्नुभएको थियो । नयाँ नयाँ हुँदा पलजीलगायत फिल्मको सिंगा टिमसँग नै मैले थुप्रै सेल्फी हानेको छु । मन परेको मान्छेको जोडीको रुपमा देखिएको मलाई पनि उत्तिकै मन पराइदिनुभयो । यसले मेरो करियरलाई माथि उठाउन राम्रै सहयोग गर्यो । हाम्रो केमेस्ट्री तपाईहरुले मन पराइदिएकाले नै नाइ नभन्नु ल ४ पछि लगत्तै जोनी जेन्टलम्यानमा पनि पलजीसँगै काम गर्ने अवसर पाएँ । त्यसपछि सुरु भयो हाम्रो नभएको प्रेमबारे गसिप । सायद, मेरो वा पलजीको चाहना विपरित यहाँहरुकै इच्छालाई बुझेर यस्ता समाचार बनेको हुनुपर्छ ।

 

सरुवातमा यस्ता समाचारले मलाई निकै अत्याउँथ्यो । किनकी परिवारसँग मैले वाचा गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिएँ । मैले बुवा आमालाई भनेकी थिएँ, म तपाईहरुको इमानलाई सधैं उँचो बनाउने मात्र काम गर्नेछु । तर, चलचित्र क्षेत्रमा प्रवेश गरेको केही महिनापछि नै नभएको प्रेमबारे समाचार देख्दा मिडियासँग मन भाँडिएको थियो । भित्रभित्रै आफन्त र परिवारले के भन्ने होलान् भनेर पिर चिन्ता परेको थियो । मिडियाले नभएका कुरा पनि लेख्दा रहेछन् र त्यसलाई गसिप भनिँदो रहेछ भनेर मैले त्यसपछि मात्र बुझेको हुँ । भाग्यवस भन्नु पर्छ, मेरो चिन्तालाई मेरो बुवाले दुर गरिदिनु भयो । उहाँले यस्तो समाचार आएपछि भन्नुभयो, छोरी बल्ल तिमी सेलिब्रेटी भएछौ । मेरो परिवारले म प्रति गरेको त्यो विश्वास मापन गर्ने आधार थियो त्यो । जुन सबैका अभिभावकमा हुँदैन । गाईंगुईं हल्ला सुनेकै भरमा थुप्रै किशोरीले नाक काटिस्, इज्जत माटोमा मिलाइदिस् भनेर वचनसँगै अनेक मानसिक टर्चर खेप्नुपर्छ । जुन मैले परेन । त्यसैले त म भन्छु, अहिले जुन उचाईमा छु, त्यसमा कर्मको फलसँगै भाग्यको खेलले पनि ठूलो योगदान पुर्याएको छ ।

 

पलजी मेरो लागि लक्की मान्छे हुनुहुन्छ । कहिले काहिँ आफैंलाई प्रश्न गर्छु, पहिलो चलचित्रमा मेरो जोडी अरु नै कोही भएको भए म अहिले यो ठाउँमा हुन्थें होला त ? त्यसैले मेरो करियरको लक्की मान्छेसँग मेरो नाम जोडिँदा चुपचाप बसेँ । अन्र्तवार्तामा पत्रकारले सोध्दाखेरी चाहिँ यथार्थ कुरा भनिरहेँ । मैले मात्र होइन पलजीले पनि हाम्रो प्रेम सम्बन्धबारे जति नै दबाबपूर्ण प्रश्न आएपनि कहिल्यै स्वीकार गर्नुभएको छैन । हुँदै नभएको कुरा स्वीकार गर्ने कुरा पनि त आएन ।

 

यद्यपि, सबै फिल्ममा किन सँगै भन्ने प्रश्न आउँछ भनेर मैले पलजी बिना ब्ल्याक फिल्ममा काम गरेँ । पलजीले म यस्तो गीत गाउँछुमा म बिना अभिनय गर्नुभयो । चलचित्र दाल भात तरकारीमा अभिनय गर्दा ताका नै उदिपजीसँग मेरो प्रेम सम्बन्ध सुरु भइसकेको थियो । तर पनि पलजीसँगको प्रेम सम्बन्धको प्रश्नले छाडेन ।

 

मैले राम्रोसँग बुझेको छु, तपाइहरुको चाहना । तन्नेरी मन न हो, तपाईहरुको चाहना पुरा गरिदिउँ जस्तो पनि बेलाबखत नलागेको होइन । हामीबीच एकदमै निकट सम्बन्ध थियो र छ । तर प्रेमको होइन, असल साथी वा भनौं पारिवारिक पाराको । स्वतन्त्र थियो हाम्रो सम्बन्ध, भावनात्मक नाता उस्तै बलियो । त्यसलाई प्रेमको बन्धनमा राख्न चाहिन । यो मामलामा अघि सर्न पनि खोजिन । पलजीले पनि सायद यस्तै सोच्नुभयो होला ।

 

अनि आयो माया प्रेमको कुरा । जसरी तपाईहरुले पलजीलाई गर्नुहुन्छ, त्यसरी नै मेरो मनमा पलजीप्रति असिमित माया छ । पर्दामा देखेकै भरमा त तपाइहरुलाई पलजीको यति धेरै माया र स्नेह छ भने मैले झन् उहाँलाई नजिकबाट चिनेको छु, बुझेको छु । मेरो सफलतामा तपाईहरुसँगै पलजीको पनि योगदान छ । त्यस्ता व्यक्तित्वप्रति माया नहुन म ढुंगे मन भएकी मान्छे होइन । जसरी मेरो परिवारलाई म माया गर्छु, उहाँलाई पनि सदैव त्यसरी नै हेर्नेछु । उहाँको कलाकारिता र योगदानको कदर गर्छु । तपाईहरुले सोचेको मायाप्रेम र बिहे पलजीसँग भएन । यद्यपि, पहिलो भेटदेखि अहिलेसम्म जुन रुपमा माया गरेको छु त्यो यथावत नै राख्नेछु । मेरो मनमा यस्तो कुरा आइरहँदा पलजीको मनमा के छ कुन्नी त्यो मलाई थाहा हुने कुरा भएन । आशा गरौं उहाँले पनि सकारात्मक नै सोच्नुभएको हुनुपर्छ ।

 

देखेको होइन लेखेको पाइन्छ, भन्ने उखान मैले पनि बच्चैदेखि सुन्दै आएको हो । त्यसैले उदिपजीको हातले मेरो सिउँदो भरिन लेखेको रहेछ । मैले उदिपजीलाई भेट्टाएँ । असल साथी प्रेमी प्रमिका हुँदै करिब एक वर्षमा हाम्रो सम्बन्ध श्रीमान श्रीमतिमा परिणत भयो । यो सम्बन्धलाई बिहेको रुप दिन म भन्दा उदिपजी नै अग्रसर हुनुहुन्थ्यो । प्रायः माया पिरतीको कुरामा केटी मान्छेहरु अघि बढ्न चाहदैनन् । मैले पनि चाहिन । एउटा बिन्दुमा आएपछि उदिपजीले प्रस्ताव राख्नुभयो । जुन समयमा उहाँको बानी व्यवहारदेखि विगतलाई मैले राम्रैसँग केलाएर विश्लेषण गरिवरी उहाँप्रति सकारात्मक भइसकेको थिएँ ।
बिहे गर्नुअघि केटा मान्छे भन्दा बढी केटीहरु नै बढी सोच्छन् जस्तो मलाई लाग्यो । बिहेको निर्णयमा पुग्नु अघि मैले पनि धेरै सोचें । मेरो मनले मलाई नै भन्यो, कमजोरी नभएको मानिस यो संसारमै हुँदैन । केटो समझदार छन्, मेरो दृष्टिमा सुन्दर छन्, माया गर्छन्, मैल भनेको मान्छन् । एउटा केटीले आफ्नो पतिमा यति गुण भेटेपछि अरु के खोजिरहनु ? त्यसमाथि थियो मेरा इच्छा, आकांक्षा पुरा गर्न सक्ने आर्थिक स्थिति पनि । त्यसैले उहाँको प्रेम प्रस्ताव, बिहे प्रस्ताव दुबै सहर्स स्वीकार गरेँ ।

 

मैले उदिपजीसँगको सम्बन्धबारे बिहे हुनभन्दा करिब ६ महिना अघि नै सार्वजनिक गरेको थिएँ । माहोल ठिकै थियो । शुभेच्छुकहरुको शुभकामना पाइरहेको थिएँ । तर छ महिनामा उहाँबारे थुप्रै खोज र अनुसन्धान गरिएछन् । २३ वर्ष बिताएको घर छाडेर नयाँ घरमा भित्रिँदै गर्दा बाहिर जति नै खुशी र सुखी देखिएपनि भित्र मनको एउटा कुनो गरुंगो भइरहेको थियो । त्यसमाथि थपिए आलोचना शब्दहरु ।

धनको पछि लागि । आफुभन्दा बुढो केटोसँग बिहे गरी । पललाई धोका दि । पैसाको तुजुक देखाई । १६ लाखको लेहेंगा, हेलिकप्टरको सवारी, कसलाई देखा हो यस्तो नौटंकी ? यतिले नपुगेर सार्वजनिक भयो उदिपजीबारे गरिएका अनुसन्धान र थेसिस । जुन हाम्रा लागि नौलो थिएनन् ।
मैले यी आलोचनाबारे ऋषि धमला सरसँगको अन्र्तवार्ता पनि धेरै कुरा बताईसकेको छु । धनकै पछि लाग्ने भए, करिब चार वर्षको फिल्मी करियरमा अझै धेरै धन भएकाहरु प्नि भेटेँ हुँला । कतिले ग्रीन सिंग्नल पनि दिए होलान् । अरुले धनको लागि के गरे र गर्छन् यहाँहरु नै बढी जानकार हुनुहुन्छ । धनि केटा पट्याएर गुमनाम भएर बस्ने मेरो शोख होइन । मैले त मन भएको मान्छे भनेर उदिपजीलाई मन पराएको हुँ । उहाँसँग अलि अलि धन पनि रहेछ । चलचित्रको दृश्यमा म रुँदा रुने, अनि हाँस्दा हाँस्ने तपाईहरुलाई उदिपजीको धनले नै दुखी बनाएर आलोचनाका शब्द खर्चिनुभएको हो त ? उहाँ जस्तो भएपनि मलाई मन पर्यो । एकपटक सोच्नुस् त सबैको रोजाई एउटै भयो भने तपाईंले नराम्रो भनेको मान्छे चाहिँ सधैं कुमार वा बुढीकन्या नै बसिरहने ? यस्तै समस्या हुन्छ भनेर भगवानले मानिसपिच्छे स्वभाव, दृष्टिकोण र सोचाई फरक दिएका होलान् ।

अब कुरा गरौं मलाई लागेको धोकेबाजको ट्यागको । पलजीबारे धेरै कुरा भनिसकेको छु । कहिले काहीँ सोच्छु, पलजी मेरो बिहेमा आउनु भएको भए । शुभकामना दिएर खुशी साटासाट गर्नुभएको भए । हामीलाई मन पराउने शुभचिन्तकहरुले के भन्नुहुन्थ्यो होला ? अहिले जति म माथि आलोचनाको झटारो हान्नु भएको छ, त्यसो हुन्थ्यो कि हुँदैन थ्यो होला ? तर के गर्नु यी सबै विगत बनिसके । पलजीसँग पारिवारीक सम्बन्ध भएकाले परिवारसहित आउन चुले निम्तो गरेको थिएँ । बेहुली हुँ, बिहेमा व्यस्तता त हुने नै भयो । निम्ता मेरै हातले दिएर, जसरी नी आउनुपर्छ भन्ने मन थियो । तर, कहिले दिल्ली कहिले नेपाल गर्दा गर्दै फुर्सद भएन । उहाँ बिहेमा आउनुहुन्छ भन्नेमा म ढुक्क नै थिएँ । त्यसैले फोन गरेर फेरी बोलाइरहन आवश्यक ठानिन । जब उहाँ मुक्तिनाथ यात्रामा निस्किनुभएको थाहा पाएँ तब भने मन अलिकति चिसो भयो । एक मनले सोच्यो, मुक्तिनाथको यात्रा तय गर्न त जुन सुकै बेला पनि सकिन्थ्यो । बिहे भन्ने कुरा त जीवनमा एक पटक हुने हो । अनि अर्को मनले सोच्यो, कोरोनाले फिल्म सरेको मौका, फिल्मको टिम मुक्तिनाथ जानेभएपछि हार्न नसकेर पो जानु भयो कि ? उहाँ नै नआएपछि परिवार मात्र मेरा बिहेमा आउने कुरा पनि त भएन । यस्तै सकारात्म सोच राखेर मन बुझाएको थिएँ । मैले त मन बुझाएँ, उहाँलाई माया गर्ने करोडौं मन मुटु बुझाउन मैले कसरी सकुँ ? उहाँहरुको मन बुझाउन पलजी स्वयंमले मात्र सक्नुहुन्छ सायद । कि त यहाँहरुले पलजीसँग हुन नसकेको बिहेलाई कुनै फिल्मको एउटा कथा सम्झेर बिर्सिन सक्नु पर्यो ।

मैले उदिपजीलाई रोज्नु, पलजी बिहेमा नआउनु, अनि हाम्रो बिहेलाई विशेष बनाउन उदिपजीले गर्नुभएको खर्च । यी कुनै पनि कुरा मन नपरेकाहरु म सँग बिच्किनु भयो । आफ्नो परिचय लुकाएर मलाई मुखभरिको गाली दिनुभयो । तपाईहरुको तालीले यहाँसम्म आइपुगेको मलाई त्यो गालीका प्रत्यक शब्दले मनको भित्री पाटोमा गोलीको छर्राले जसरी पोल्ने गर्छन् । तर, सहनुको विकल्प म सँग के छ र ? एउटा महिला भएपछि झनै यस्ता वचनका तिरहरुले पलपलमा घोच्दा रहेछन् । आफुले प्रेम गरेको मान्छेलाई पनि ओइलेको फूल भन्दै छिःछि र दुरदुर गर्दा रहेछन् । आफुले माया गरेको मान्छे पाएको क्षणलाई अविश्मरणीय बनाउन इमान्दारितापूर्वक कमाएको धन ट्याक्स, भ्याट तिरेर खर्च गर्दा पनि आपत्ती जनाउनेहरु हुँदा रहेछन् ।

पुरुषहरुले बुझेनन् एउटा महिलाका खुशी तर राजकुमारी बन्ने सपना देख्ने नारीहरुले पनि नारीकै कुरा कहिले काहीँ नबुझ्दा रहेछन् । जे होस् बिहे भयो । अविश्मरणीय रह्यो । फिल्मी करियरमा धेरै संघर्ष र पिडा त सहनु परेको थिएन । त्यो पिडाको केही अंश अनुभव गर्न पनि पाइयो । अन्त्यमा, तपाईका शब्दहरुले मेरो मनलाई चसक्क बनाउला तर घर भत्काउन सक्दैन । किनकी म भन्दा बलियो छ, मेरो घर अनि परिवार । बरु सकारात्मक सोचिदिनुभयो भने मेरो घर त बलियो हुन्छ नै अरु नारीहरुलाई पनि उर्जा, सम्मान र प्रेरणा दिनेछ । मलाई माया गर्ने घृणा गर्ने सबैलाई मेरो नयाँ वर्षको शुभकामना ।

(यो लेख आँचल शर्माको आधिकारिक धारणा होइन । यहाँ व्यक्त भएका शब्दहरु उनका अन्र्तवार्ताहरुलाई आधार बनाएर मनका कुराले लेखेको भावना मात्र हो ।)

तपाईको प्रतिक्रिया