काठमाडौं । कोरोना भाइरसका कारण भारतमा लाखौ मानिस प्रभावित भएका छन्, संक्रमण तीब्र रुपमा फैलिरहेको छ । ६ सय बढीको मृत्यु भइसकेको छ ।

भाइरसबाट बच्न मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक सामाग्रीहरुको अभाव भएको समाचार सार्वजनिक भइरहेका छन् । यस्ता समाचार आएपछि अभिनेत्री विद्या बालनले घरमै मास्क बनाउने सजिलो तरिका सिकाएकी छन् ।

घरमै बनाएको मास्कबाट पनि अरूको थुक एवं संक्रमणबाट आफूलाई बचाउन सकिने जिकिर गर्दै अभिनेत्री विद्याले मास्क बनाउन सिकाएकी हुन् ।

उनले घरमै मास्क बनाएर लगाउने तरिकाबारे एउटा भिडियो नै बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले मास्क बनाएको त्यो भिडियो अहिले चर्चामा छ ।

बजार बन्दका कारण बाहिर मास्क तथा कपडा किन्न जान नसक्ने अहिलेको अवस्थामा घरमै पुराना सारी तथा ब्लाउजबाट मास्क बनाउने तरिका यी अभिनेत्रीले सिकाएकी हुन् । जसमा उनले कैंचीले ब्लाउज काटेर आफैंले इलास्टिक हालेर मास्क सिलाएर लगाएकी छन् ।

कोरोनाबाट जोगिन उनले मास्क बनाउने तरिकासहितको यसरी घरमै मास्क बनाउन सकिन्छ भन्ने सन्देश भिडियोमार्फत दिएकी छन् ।

आफूले मास्क बनाएको भिडियो इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘सहर मात्र हैन, ग्रामीण क्षेत्रमा पनि महिला दिदीबहिनीहरूसँग पुराना सारी तथा ब्लाउज हुन्छन् । यस्ता सारी तथा ब्लाउजबाट हामीले घरमै मास्क बनाएर अहिलेको अवस्थामा कोरोनाको महामारीबाट केही हदसम्म आफूलाई जोगाउन सक्छौं ।’

बजारमा मास्क नपाएको बेला घरबाट बाहिर तरकारी किन्न र अन्य कामका लागि जाँदा यस्तो मास्क उपयोगी हुने पनि अभिनेत्री विद्या बालनको जिकिर छ ।

तपाईको प्रतिक्रिया