काठमाडौँ — लकडाउनले २४ घण्टै घरमा बस्नुपर्दा सबैलाई झिंजो लागेको छ । यही मनोविज्ञानलाई बुझेर गायक योगेश्वर अमात्य, न्ह्यु बज्राचार्य र जेम्स प्रधानले घरबाटै गीत गाएका छन्, ‘क्या बोर भयो…।’

‘न्ह्युको नयाँ गीत गाउने तयारीमा थियौं । मेसेन्जरसम्म जेम्स, न्ह्युसँग कुरा गर्दैगर्दा मैले यो गीत गाउन भनेर प्रस्ताव राखेको थिएँ । न्ह्यु सहमत भयो । त्यसपछि लकडाउनमा हामीले यो गीत गायौं,’ योगेश्वरले सुनाए ।

यसअघि जेम्स, न्ह्यु र योगेश्वर मिलेर नयाँ गीत गाउने तयारी गर्दै थिए । उनीहरु लकडाउनअघि हप्ताको तीनपटक भेटिरहन्थे । कवि विप्लव प्रतीक पनि उनीहरुकै समूहका हुन् । भेट हुँदा उनीहरु गीत गाउने गरिरहन्थे । हरेक भेटमा उनीहरु दर्शकलाई नयाँ गीत दिने छलफल गर्थे । लकडाउनमा पनि उनीहरु न्ह्युको नयाँ गीत ल्याउने तयारीमा थिए ।

तर दर्शकलाई घरभित्रै बस्नुपर्ने सन्देश दिन अहिले सान्दर्भिक ठानेर यो गीत ल्याएको अमात्य बताउँछन् ।

‘घरमा बसेका दर्शकका लागि पनि उपहार होस् भनेर यो गीत ल्यायौं । हामी चारैजना घरमा बसेर देश र सरकारको लकडाउन पालना गरेको पनि देखिने । यतिखेर हामी घरमै बस्नुपर्छ भन्ने सन्देश दिन पनि जाने । त्यसैले आ–आफ्नो घरमा बसेर हामीले यो गीत गायौं,’ अमात्यले भने ।

यो गीत २४ घण्टामा तयार पारेको उनीहरु बताउँछन् । गीत तयार पार्न उनीहरुले जेम्बेका लागि सुन्दरसँग सहयोग मागे । जेम्सले सबै प्राविधिक पक्ष सम्हाले । सबैले आ–आफ्नो ठाउँबाट गीत गाए । भिडियो मोबाइलबाट नै खिचे । गायक अमात्यको भिडियो उनकी श्रीमतीले खिचिदिइन् । दुईपटकमा भिडियो तयार भयो । त्यसपछि तीनैजनाले मिलेर गाएको गीत युट्युबमा सार्वजनिक भयो । दर्शकले अत्याधिक रुचाइदिए । गायक अमात्यले दर्शकमा नयाँ गीत नल्याएको पनि ८ वर्ष भइसकेको थियो ।

तपाईको प्रतिक्रिया