काठमाडौं। आज गुरू पूर्णिमा, यसदिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरूप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाइँदै आएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिन्छ।
आजको दिन आफूलाई सही बाटोमा हिँड्न सिकाउने तथा आफ्नो सफलताका लागि सही मार्ग देखाउनेप्रति सम्मान गरिन्छ। चर्चित कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि एक अर्कालाई गुरू मान्दै आएका छन्। लामो समयदेखि मह जोडीको रूपमा कलाकारिता क्षेत्रमा अगाडि बढिरहेका दुवै जनाले सफलताको पछाडि एक अर्काको साथ सहयोग रहेको जनाएका छन्।
मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत गुरू पूर्णिमाको शुभकामना दिँदै भनेका छन्, “वास्तवमा सफलता, असफलता, घटना, दुर्घटना, गल्ती, सुख, दुःख, पुस्तक, शिक्षक, समय, परिस्थिति, कानून, समाज, धर्म, आमा, बुबा, हाम्रा आदरणीय दर्शक, श्रोता सबै हाम्रा गुरूहरू हुन। यीमध्ये सबै भन्दा पहिलो गुरु आमा हुन्।”
उनले दुई वर्ष अगाडि गुरू पूर्णिमाको दिन अमेरिकाबाट हरिवंशलाई दिएको शुभकामना पनि सार्वजनिक गरेका छन्। जसमा उनले भनेका छन् :
म : हाई हरि, वीई आर गुरूज् अफ इच अदर। ह्याप्पी गुरू पूर्णिमा।
ह : (तुरुन्तै हरिको जवाफ आयो) हो दाई यू आर नेवार गुरू एण्ड आईएम बाहुन गुरू।
मः हा हा हा। बट यू आर स्पेशल वान।
हः यू आर स्पेशल टू।   





					
				

































































