कुनै पनि क्षेत्रमा आफूलाई स्थापित गर्न संघर्षरत व्यक्तिका लागि अभिनेता पुष्प खड्का हौसलाका पात्र हुन सक्छन् । आज उनले नेपाली फिल्ममा जुन उचाई हासिल गरेका छन्, त्यो त्यसै पाएका होइनन् । यसका पछाडि उनको अथक मिहिनेत छ । संघर्षका कयौं कहाली लाग्दा पलहरु विताएका छन् । असफलतामा पनि सम्हालिएर अगाडि बढेका उनी अहिले सफलताको यात्रा छन् ।

फिल्मको हिरो बन्ने सपना बोकेर कैलालीबाट काठमाडौं आएका पुष्पलाई कसले त्यति सजिलै हिरो बन्ने मौका दिन्थ्यो र ? तर, उनी पछाडि हट्ने पक्षमा पनि थिएनन् । हिरो बन्न उनले अभिनय र नृत्य सके । यति गर्दा पनि उनले फिल्ममा काम गर्ने अवसर पाएनन् । यसपछि म्यूजिक भिडियोका लागि प्रयास गरे । लामो संघर्षपछि स्वं. आलोक नेम्वाङले उनलाई म्यूजिक भिडियोमा ब्रेक दिए ।

फिल्ममा अभिनय गर्ने अवसर पनि उनलाई आलोकले नै दिएका हुन् । उनी निर्देशित फिल्म ‘अझै पनि’ मा पुष्प सहायक भूमिकामा थिए । तर, फिल्म बक्सअफिसमा चिप्लियो । पुष्पको अभिनय पनि रुचाइएन । यसै क्रममा उनले फिल्म ‘दर्पण छायाँ २’ मा मुख्य नायकको रुपमा अभिनय गर्ने अवसर पाए । रिलिज अगाडि फिल्मको राम्रै चर्चा थियो तर हलमा दर्शकको साथ पाएन ।

यद्यपि, उनले अभिनयमा भने केही आश देखाएका थिए । यही कारण निर्माता छविराज ओझा र निर्देशक नवल नेपालले फिल्म ‘मंगलम’ मा उनलाई अभिनयको अवसर दिए । अन्ततः यो फिल्म उनको करिअरका लागि सञ्जिवनी बुटी सावित भयो । उनले सफलता मात्र पाएनन्, अभिनयमा आफूलाई प्रमाणित पनि गरे । आजका दिनसम्म उनले यही फिल्मको ब्याज खाइरहेका छन् ।

‘मंगलम’ बाट राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेका उनले ‘दाल भात तरकारी र मारुनी’ जस्ता फिल्ममा काम गरिसकेका छन् । त्यस्तै, उनी अभिनीत ‘मनसँग मन, तिम्रो मेरो साथ, कृष्ण लीला’ फिल्म प्रदर्शनको तयारीमा छन् । अहिले पुष्पको नेपाली फिल्ममा लोभलाग्दो माग छ । हरेक दिन फिल्मको अफर टुट्दैन । लकडाउनपछि त उनलाई फिल्मको स्क्रिप्ट पढेरै फुर्सद मिलेको छैन ।

स्थिति सामान्य भएपछि उनी ‘लप्पन छप्पन’ निर्देशक मुकुन्द भट्टको नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । यसमा उनी एक्सन भूमिकामा देखिँदैछन् । निर्देशक रमेश बुढाथोकीले पनि उनलाई फिल्म ‘सुदूर’ अफर गरेका थिए । तर, समय नमिल्ने भएपछि उनले फिल्म साइन गरेनन् । संगीतकार शभुजित बाँस्कोटाले बनाउन लागेको नयाँ फिल्मबाट समेत उनलाई अफर भएको छ ।

त्यस्तै, नवल नेपाल स्थिति सामान्य भएपछि नयाँ फिल्म बनाउने तयारीमा छन् । यसमा पनि पुष्प हुने प्रवल सम्भावना छ । उनलाई अरु पनि केही ब्यानरबाट फिल्म अफर भएको बुझिएको छ । कुनै समय फिल्ममा काम गर्नका लागि भौतारिएका उनलाई अहिले फिल्म छान्नै सकस भइरहेको छ । संघर्षबाट विचलित नहुने हो भने मानिसको दिन कसरी फिर्छ, पुष्प एउटा उदाहरण हुन् ।

तपाईको प्रतिक्रिया