चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले फिल्म पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। धरान–१५ स्थित होटल धरान किचनमा सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन्।
करिब डेढ दशकदेखि फिल्म पत्रकारितामा सक्रिय श्रेष्ठले कोशी प्रदेशको इटहरीलाई मुख्य कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका छन्। उनी पछिल्लो सात वर्षदेखि अनलाइन पोर्टल ‘परिकला न्युज डटकम’ का सञ्चालकसमेत हुन्।

अधिवेशनले उपाध्यक्षमा रबिन राउत, सचिवमा मनोज दाहाल, सहसचिवमा आरती थापा ‘रश्मी’ र कोषाध्यक्षमा सुमित कार्कीलाई चयन गरेको छ। त्यसैगरी सदस्यहरूमा रबिना काफ्ले, आरबी कटुवाल, अश्विन दाहाल, तुलसी घिमिरे, मनिषा विश्वकर्मा, सन्जिव तिम्सिना, एलएन गच्छदार, मोहन अधिकारी, इजन तामाङ र विशाल काफ्ले रहेका छन्। प्रदेश प्रतिनिधितर्फ एलएन गच्छदार, तुलसी घिमिरे, मनोज दाहाल, सुमित कार्की र सुमन भट्टराई चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष विनोद विश्वकर्मा र आरती थापा ‘रश्मी’ चयन भएका छन्।
अध्यक्षमा चयन भएपछि श्रेष्ठले पत्रकारहरूका लागि प्रेस मिट, तालिम तथा साना कार्यक्रम सञ्चालन गर्न मिल्ने हलसहितको शाखा कार्यालय छिट्टै स्थापना गर्ने घोषणा गरेका छन्। साथै ‘न्युज पोस्टर डिजाइन’ सम्बन्धी तालिम सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ, जसलाई नयाँ कार्यसमितिको पहिलो बैठकले सर्वसम्मत रूपमा पारित गरेको उनले जानकारी दिए।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका निवर्तमान अध्यक्ष विनोद विश्वकर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। नयाँ नेतृत्व चयनका लागि केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज नरेन्द्र बस्नेतको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो।
कार्यक्रममा संघका निवर्तमान केन्द्रीय अध्यक्ष स्व. दिनेश सिटौलाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार, कलाकार तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।










