नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभाग प्रमुख शंकर भण्डारीले देशमा कम्युनिष्टहरुको कारण अराजकता, द्धन्द्ध र हिंसा फैलिएको बताएका छन । २०७४ सालपछि नेपालमा कम्युनिष्टहरुले सरकार चलाएका बेलामा देशमा अराजकता फैलाएको र राज्यको सम्पति माथी ब्रम्हलुट मच्चाएको भन्दै त्यसलाई काँग्रेसले सुझबुझका साथ नियन्त्रण गर्नु पर्ने पुर्व मन्त्री समेत रहेका नेता भण्डारीको भनाई छ ।

नेपाली काँग्रेसको केन्द्रीय तरुण विभाग अन्तर्गतको युवा उधमशिलता विकास तथा प्रशिक्षण समन्वय समितिको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता भण्डारीले पछिल्लो तीन बर्ष देशमा कम्युनिष्टहरु सरकारमा रहदा उत्तेजनात्मक गतिबिधी गरेका कारण लोकतन्त्र माथी चुनौती थपिएको बताए ।

अहिले काँग्रेसको नेतृत्वमा सरकार बनेपनि मधेसबादी दल र कम्युनिष्ट सँगको सहकार्य भएका कारण सोचे जस्तो प्रभावकारी काम सरकारबाट हुन नसक्ने उनको भनाई छ । २००७ साल पछिको नेपालको राजनीतिक परिघटनालाई हेर्ने हो भने नेपालमा कम्युनिष्टहरुले देश र जनताको पक्षमा कुनै पनि भुमिका निर्वाह गरेको देखिदैन नेता भण्डारीले भने, ‘कम्युनिष्टहरुको नेतृत्वमा राजनीतिक परिवर्तन र कुनै खालको सुधार भएको छैन, यो कुरालाई काँग्रेसका युवाहरुले जनतामा लैजान सक्नु पर्छ ’ ।

देशमा युवाहरु बेरोजगार रहेको भन्दै तरुण बिभागको संंयोजक समेत रहेका नेता भण्डारीले भने ‘युवा उद्यमशीलता समन्वय समितिका युवाहरुले स्वदेशमै उद्यम गरेर सफल बनाउनको लागि युवाहरुलाई बिज्ञको सहयोगमा प्रशिक्षण दिएर स्वदेशमै सफल बन्न सकिन्छ भन्ने आत्मबल दिन र सहयोग गर्न सक्नु पर्छ’ ।

काँग्रेसपार्टी भित्रको केही आन्तरिक समस्या र कोरोनाका कारण अधिबेशन हुन सकेन भने पार्टीको अस्तित्व खतरामा पर्ने बताउदै नेता भण्डारीले पार्टी नेतृत्वले त्यसमा ध्यान दिनु पने बताए । बिगतका नेपाली काँग्रेसले गरेका कमी कम्जोरी सुधारेर आगामी दिनमा चुनाब जितेर देशलाई समृद्ध बनाउनु पर्ने नेता भण्डारीको धारणा छ ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय तरुण बिभाग युवा उद्यमशीलता विकाश तथा प्रशिक्षण समन्वय समितिका संयोजक रामशरण घिमिरेले देशको आयात र निर्यातको सर्वेक्षणको गत आ.व. को चैत्र मसान्त सम्मको विवरण प्रस्तुत गरेका थिए । उनले लाखौ युवाहरु स्वदेशमा काम नपाएर बिदेशीएको भन्दै स्वदेशमै रोजगारीको सिर्जना गर्न युवाहरुले नयाँ सोचका साथ काम गर्नु पर्ने बताए ।

युवा नीति २०७२ ले १६ देखि ४० बर्ष उमेर समुहलाई युवा भनेपनि काँग्रेस भित्र काम गर्ने इच्छा शक्ति हुन्छ तब सम्म युवा भन्ने गरिएको बताए । युवालाई समेट्ने र युवामा भएको जोस, जाँगर र क्षमतालाई नेपाली काँग्रेस पार्टीले प्रयोग गर्न सके देशमा छिटो बिकाश हुने र रोजगारीको सिर्जना गर्न सकिने बताए । युवाहरुलाई काँग्रेस पार्टीले जिम्मेवारीमा लाने हो भने संगठनलाई तुस्त बनाउन र इतिहास बोकेको यो पार्टीलाई पहिलो पार्टीको रुपमा स्थापित गर्न गाह्रो नपर्ने संयोजक घिमिरेको दाबी छ ।

नेपाली काँग्रेस केन्द्रिय तरुण बिभाग युवा उद्यमशीलता विकाश तथा प्रशिक्षण समन्वय समितिको प्रथम बैठकमा देश भरिका युवाहरुलाई सहभागि गराउने प्रयास भए पनि कोभिडका कारण प्रतिनिधी मुलक कार्यक्रम मात्रै गरिएको आयोजकले जनाएको छ । नेपाली काँग्रेसले निर्माण गरेको बिभिन्न बिभागहरु मध्ये तरुण बिभाग पछिल्लो समयमा बढी सक्रिय देखिएको छ । यो बिभाग भित्र बिभिन्न उप समितिहरु बनाएर काम सुरु गरिएको र युवाहरुलाई चलाएमान बनाइएको नेताहरुले बताएका छ ।

तपाईको प्रतिक्रिया