बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला नेपाली फिल्म बजारमा चर्चा र उत्सुकताको केन्द्र बनेको छ। गीत, ट्रेलर र निर्माण शैली (मेकिङ) सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो उल्लेख्य रूपमा बढेको देखिन्छ। फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत जस्ता लोकप्रिय कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ। त्यस्तै  सुहानाको अभिनय यसअघिका फिल्मभन्दा बिल्कुलै फरक र परिपक्व देखिएको चर्चा छ, जसले दर्शकमा थप उत्साह सिर्जना गरेको छ।

निर्माता सुशील पोखरेल फिल्मप्रति निकै आशावादी छन्। उनले आफ्नो अघिल्ला फिल्महरूको अनुभवलाई तुलना गर्दै ‘परालको आगो’ले दर्शकको मनमा छुट्टै छाप छोड्ने विश्वास व्यक्त गरेका छन्। उनी भन्छन्, “यो फिल्म केवल कथा होइन, प्रस्तुतिको हिसाबले पनि फरक अनुभव दिनेछ।” यस्तै, निर्देशक लक्ष्मण सुनार पनि फिल्मको निर्माण शैली र प्रस्तुतिलाई लिएर विश्वस्त देखिन्छन्। टिजर र गीतमार्फत झल्किएको नयाँ मेकिङ स्टाइलले फिल्मलाई अझै विशेष बनाउने संकेत गरेको छ।

फिल्मको अर्को रोचक पक्ष भनेको मुख्य कलाकारहरूको यो पहिलो सहकार्य हो। सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत पहिलोपटक एउटै पर्दामा देखिँदैछन्, जसले उनीहरूको केमेस्ट्रीलाई ताजा र प्राकृतिक बनाउने अपेक्षा गरिएको छ। फिल्मका लेखक सुशील देवकोटाका अनुसार, कथाभन्दा फरक ढंगले निर्माण गरिएको यस फिल्मले नयाँ अनुभव दिनेछ। उनले भनेका छन्, “यो केवल फिल्म होइन, नयाँ प्रयोग र नयाँ अनुभूतिको संगम हो।”

विशेष कुरा के भने, यो फिल्म नेपाली साहित्यकार गुरु प्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ मा आधारित छ। यही कथालाई आधार बनाएर निर्देशक लक्ष्मण सुनारले यसअघि ‘बुलाकी’ जस्तो समीक्षात्मक रूपमा सफल फिल्म निर्देशन गरिसकेका छन्। कमर्शियल रूपमा सफल निर्माता सुशील पोखरेलले लगानी गरेका ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’ र ‘राधे’ जस्ता फिल्मले दर्शकमाझ राम्रो छाप छोडेका छन्। यही सफलताको निरन्तरतामा ‘परालको आगो’ले पनि दर्शकको अपेक्षा पूरा गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया