काठमाडौंमा शुक्रबार आयोजित एक विशेष कार्यक्रममा फिल्म ‘लालीबजार’को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ। करिब ३ मिनेट लामो ट्रेलरले समाजको एउटा पीडादायी यथार्थलाई गहिरो भावनासहित प्रस्तुत गरेको छ। निर्देशक यम थापाको निर्देशनमा बनेको यस फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का केन्द्रमा देखिएकी छन्। ट्रेलरले विशेषगरी वादी समुदायका महिलाले भोग्नुपरेको बाध्यता, शोषण र संघर्षलाई प्रभावकारी ढंगले उजागर गरेको छ।

नत्थी प्रथाको आडमा सभ्रान्त वर्गबाट हुने अत्याचार र त्यसले सिर्जना गर्ने पीडालाई कथाको मुख्य आधार बनाइएको छ।
स्वस्तिमा फिल्ममा एक वादी महिलाको भूमिकामा देखिएकी छन्, जो परिस्थितिवश देह व्यापारमा संलग्न हुन बाध्य हुन्छिन्। तर, आफ्नी छोरीलाई त्यही नियतिबाट जोगाउन उनीले गर्ने संघर्षले कथालाई थप संवेदनशील बनाएको छ। ट्रेलर हेर्दा आमाको माया, पीडा र विद्रोहको मिश्रण स्पष्ट महसुस गर्न सकिन्छ। ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै स्वस्तिमाले यो फिल्म आफ्नो करिअरकै विशेष परियोजना भएको बताइन्। उनले फिल्मको व्यावसायिक नतिजाभन्दा पनि यसको भावनात्मक र सामाजिक मूल्यलाई बढी महत्व दिएको उल्लेख गरिन्।

आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘लालीबजार’मा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। साथै, विशाल देवकोटा र प्रशंसा सुवेदीले यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका छन्।
‘जात्रा’ निर्माण कम्पनी षट्कोण आर्ट्सको ब्यानरमा बनेको फिल्ममा सुशन प्रजापतीको छायांकन, यम थापा र प्रदीप भट्टराईको लेखन, मित्रदेव गुरुङको सम्पादन तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ। सामाजिक यथार्थलाई सशक्त रूपमा पर्दामा उतार्ने प्रयास गरेको ‘लालीबजार’ले दर्शकको मन छुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया