काठमाडौं । सिमानामा काँडेतार अभियानका संयोजक तथा चलचित्र कलाकार संघका नि. अध्यक्ष एवं नायक/ निर्माता नवल खड्काले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट गरी लकडाउनका कारण धराशायी बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक चलचित्रहरुको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन आग्रह गर्नु भएको छ ।
बुधबार प्रचण्ड निवास पुगी अभिनेता खड्काले नेपाली समग्र चलचित्र क्षेत्रको समस्या र चुनौतीबारे व्याख्या गर्दै राज्यले विशेष अनुदान दिएर थला परेको चलचित्र क्षेत्रलाई उठाउन अनुरोध गर्नुभयो ।
अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न पनि नेताद्वयलाई आग्रह गर्नु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणमा पनि राजनीतिक दल र सरकारले विशेष कदम चाल्नुपर्ने सुझाव दिनु भयो ।
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चलचित्र क्षेत्रका समस्याबारे आफू गंभीर भएको बताउँदै यस विषयमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । पूर्व सभामुख महराले चलचित्र क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताउनु भयो ।