काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आठ जना सञ्चारकर्मीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार ‘फोनिज अवार्ड’ प्रदान गरेको छ। स्थापना दिवसको अवसरमा फोनिजले बुधबार एक समारोहबीच उक्त अवार्ड वितरण गरिएको हो।

इण्डिजिनियस टेलिभिजनका कुमार यात्रु तामाङ, गोरखापत्र दैनिककी आङदावा शेर्पा, जलजला एफएम रोल्पाका मौसम रोका मगर र हाल पोर्चुगलमा रहेका स्वतन्त्र पत्रकार राजकुमार दिक्पाललाई ’फोनिज अवार्ड–२०७७’ प्रदान गरिएको छ।

गत वर्ष कोरोना महामारीका कारण वितरण हुन नसकेको अवार्ड यस वर्ष प्रदान गरिएको हो। उनीहरुले अवार्डसहित जनही २० हजार रुपैयाँ प्राप्त गरे।

यस वर्षको ‘फोनिज अवार्ड–२०७८’ भने कास्कीका स्वतन्त्र पत्रकार तिलक पुन, रेडियो नेपालकी रचना श्रेष्ठ, नेपाल टेलिभिजन (झापा)का इन्द्रजित मुखिया र झिल्को डटकमका भवानी बरालले पाएका छन्। उनीहरुलाई पनि अवार्डसहित जनही २० हजार रुपैयाँ प्रदान गरिएको थियो।

यसैगरी ’फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’ धनगढीबाट प्रकाशित हुने थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तन्छोप्पा मासिकलाई संयुक्त रुपमा प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ।

सोही अवसरमा ’फोनिज युके पत्रकारिता सम्मान–२०२०’ हिमाल खबर डटकमका सन्त गाहा मगर र ’फोनिज युके पत्रकारिता पुरस्कार–२०२०’ बा नयाँ पत्रिका दैनिकका टेकराज थामीलाई प्रदान गरिएको थियो।

फोनिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा फोनिज अवार्ड प्रदान गर्दै आएको छ।

आदिवासीहरुको पहिचानजनित पत्रकारिता आजको आवश्यकता भएको पुरस्कार वितरण समारोहमा बोल्दै सूचना आयोगका प्रमूख आयुक्त महेन्द्रमान गुरुङले बताए। सूचनाको हक कार्यान्वयनमा मातृभाषामा सूचना पाउने अधिकार सुरक्षित गर्न आफ्नो प्रयास जारी रहेको उनको भनाय थियो।

फोनिजका अध्यक्ष डण्ड गुरुङले आदिवासी जनजाति पत्रकारहरुलाई प्रोत्सहित गर्न अवार्ड प्रदान गर्दै आएको बताए।

तपाईको प्रतिक्रिया