भक्तपुर – स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडो नेकपा समाजवादी एस पार्टी र एमाले नो पार्टी अभियान देशव्यापी रुपमा चलाउन कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आज ठिमीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले एमाले गलत पार्टी भएको र एकिकृत समाजवादी सही पार्टी भएको टिप्पणी गर्नुभयो । नेकपा एकीकृत (समाजबादी) पार्टीका स्थायी कमिटी सदस्यसमेत रहनु भएका मन्त्री खतिवडाले आगामी निर्वाचनमा एकीकृत समाजबादी पार्टी ठूलो हुने पार्टी हुने दाबी समेत गर्नु भयो ।
मन्त्री खतिवडाले भन्नुभयो, “केपी ओलीले आफ्नै झापा जिल्लामा एक्लै चुनाव लड्ने आँट नभएर राप्रपाको काँध समाएर चुनाव जित्नु भयो, आगामी चुनावमा एमालेले अन्य दलसँगको तालमेल नगरी एक्लै चुनाव जितेर देखाउन म चुनौती दिन्छु, अब नेकपा एसले आउँदो चुनावमा एमाले भन्दा बढी सिट ल्याएर देखाइदिन्छ ।”
एमाले अध्यक्ष केपी शर्मा ओली धुन्दुकारी र भस्मासुर प्रबृत्तिका भएको आरोप लगाउँदै उहाँले एमालेमा बस्दा कम्युनिष्ट पनि सकिने राम्रा नेता पनि सकिने अबस्था आए पछि कम्युनिस्ट आन्दोलन जोगाउन बाध्य भएर नयाँ पार्र्टी गठन गरेको बताउनु भयो । एमाले अध्यक्ष ओलीले माधव नेपालसँगको डर र जनतालाई भ्रममा पार्न सपनामा पनि नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधब नेपालको नाम लिएर बर्बराउन थालेको टिप्पणी गर्दै उहाँको भनाइ थियो ।
मन्त्री खतिवडाले भन्नुभयो, “ एमाले नीति र सिद्धान्त प्धान भएर चलेन, व्यक्ति प्रधान भएर चल्यो, पार्टी जिन्दावादको नारा लाग्न छाड्यो, व्यक्तिको जयजयकारको नारा लाग्न थाल्यो, स्वतन्त्र, स्वाभिमानी र समाजवादीका लागि लड्दै आएकाहरु ओलीको दास बन्न नसके पछि नयाँ पार्टी गठन गर्यौ स्वाभिमानी प्रबृत्तिका नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा आए, दास मनोबृत्तिका नेता तथा कार्यकर्ता ंएमालेमा गए ।”
फुटेर जाने पार्टी सकिने भनेर बामदेब गौतमको उदाहरण दिनु अहिलेको समयमा नमिल्ने उहाँले तर्क गर्नुभयो । उहाँले माधव नेपाल पक्षका १० सांसद एमालेमै बसेको सन्दर्भ कोट्याउदै भन्नुभयो, “अहिले अनेकौ नामका १० भाईको हालत हेर्नुस्, यता हुँदा उनीहरुको बिचारको सम्मान हुन्थ्यो, मञ्च पाउँथे तर अहिले न विचारको सम्मान छ, न कुनै मञ्च दिएको छ, नत कुनै निर्णय गर्ने ठाउँमा राखिएको छ, बिचरा १० भाईको अहिले रोइलो छ, एक दिन हण्डर खाएर यतै फर्केर आउँछन् ।” राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत ओलीको संसद विघटनको निर्णयलाई दुई पटक सदर गरेर गलत कदमलाई साथ दिएको उहाँको टिप्पणी थियो ।
भक्तपुरका सांसद तथा एमाले नेता महेश बस्नेतलाई फुच्चे र गाण्टे नेताको संज्ञा दिंदै मन्त्री खतिवडाले भन्नुभयो, “यहाँ एक जना फुच्चे भाई छन्, ठूलाले जस्तो सिकायो, उस्तै गरिरहेका छन्, विचार र सिद्धान्तको कुरा गर्दैनन्, कुट्ने ठोक्ने, हनुमन्ते र मनोहरा कटाउने कुरा मात्रै गर्छन् तिनका दिन अब सकिए ।” भक्तपुरमा गठबन्धनबाट चुनाव जितेका फुच्चे भाइको दिन अब सकिए, भन्दै उहाँले सधैँ भक्तपुर मेरो हो भन्नेहरुको दिन गन्ती शुरु भइसकेको र भक्तपुरमा कहिल्यै निर्वाचनमा नजित्ने दाबी गर्नुभयो ।
नेकपा एकिकृत (समाजवादी) भक्तपुर जिल्ला कमिटीका अध्यक्ष श्यामसुन्दर बस्नेतले एमालेलाई नक्कली कम्युनिष्ट संज्ञा दिदै समाजवादी पार्टी अगुवा कम्युनिष्ट पार्टी भएको दाबी गर्नुभयो । उहाँले आफ्ना कार्यकर्तालाई राम्रो बाटो मात्रै देखाउछौ, कुबाटो देखाउदैनौ भन्दै उहाँले भक्तपुरबाट कम्युनिष्ट एकता शुरु गरेर विशाल कम्युनिष्ट पार्टी बनाउने दाबी गर्नुभयो ।
नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेततर्फ लक्षित गर्दै समाजवादीका अध्यक्ष बस्नेतले भन्नुभयो, ”यहाँका मेयर, उपमेयरदेखि सांसदसम्मले सोझा जनतालाई चौबाटोमा छेकेर हाम्रो पाटीृमा आउँन रोकेका छन्, आफूलाई केपी ओलीको उत्तराधिकारी हुँ भन्नेले बाटो छेक्ने काम गरेका छन्, हामी चुप लागेर बस्दैनौँ, त्यसका बिरुद्ध अब हामी लड्छौँ ।“
आगामी चुनावमा विजयको रुप लिएर देखाइदिने दाबी गर्दै बस्नेतले भन्नुभयो, ”हामीले बनाइदिएका खुट्किलो चढँेर माथि पुगेका छन्, हामीसँग निहुँ खोजे त्यो खुट्किलो भत्काइदिएर पुरानै धरातलमा पुर्याई दिन्छौँ ।“ कार्यक्रममा एकीकृत समाजबादी नेता डा.राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य धुर्वराज बिष्ट, युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, युवा संघका नेता एवं अनुशासन आयोगका अध्यक्ष दिपक थापा, संघका जिल्ला अध्यक्ष रंजन मोहन सैजु लगायतले पार्टी बिस्तारको काममा सबैलाई एक ढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।