भरतपुर, ३१ वैशाख
भरतपुर महानगरको मतगणना विहान ९ बजेदेखि सुरु हुने भएको छ । वडा नम्बर १ बाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । शनिबार एक समूहले मतगणना गर्नेछ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले एक घण्टा अगावै उम्मेदवारहरुका प्रतिनिधिलाई मतगणना गर्ने स्थानमा आउन अनुरोध गरिएको बताउनुभयो । मतगणना सुरु गर्ने समय एकिन गर्न बसेको सर्वदलीय बैठक करिब ३ घण्टा बसेको थियो । शुक्रबार भएको स्थानीय तहको मतदान चितवनमा शान्तीपूर्ण, भयरहित, विवाद रहित सम्पन्न भएको दलहरुको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार मतगणना स्थलमा केही सुरक्षाका विधिबारे दल तथा उम्मेदवारहरुले दिएका सुझावहरुकै आधारमा कामहरु हुने बताउनुभयो । “सबै मतपेटिकाहरु सबुद, ठिक छन्, उहाँहरु सबै विश्वस्त हुनुभएको छ”, उहाँले भन्नुभयो, “हामीले मतगणना कसरी गर्ने भन्नेबारे मित्रवत छलफल ग¥यौँ, विहान ९ बजेदेखि मतगणना सुरु हुनेछ ।” दलहरुले मतगणना स्थलमा सुरक्षाको रणनीतिमा केही सुधार गर्न सुझाएका थिए । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राती अबेर सर्वदलीय बैठक सकिएकाले विहानैदेखि मतगणना सुरु गर्न सबै दल तथा उम्मेदवारहरु सहमत बनेको बताउनुभयो ।

“जनताको मत राज्यले सुरक्षा दिनुपर्छ, सुरक्षाका थप उपाय अपनाउन सुझाएका छौँ”, उहाँले भन्नुभयो, “सिसी क्यामेरा थप गर्ने, डिस्प्ले बोर्ड फराकिलो राख्ने लगायतका कामहरु गर्न भनेका छौँ, त्यसैको तयारी गर्न मतगणना विहानबाट सुरु हुन लागेको हो ।” नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले व्यवस्थापकीय कमजोरी सुधार्न आग्रह गरिएको बताउनुभयो । “मतपेटिकाहरु भण्डारण कक्षको सुरुदेखि अन्तिमसम्मको दृश्य देखिने गरी सिसी क्यामेरा जडान गर्न, डिस्प्ले बोर्ड राख्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “मतपेटिका साटिन्छ, मतपत्रहरु च्यातिन्छ भन्ने भ्रम जनतामा नहोस्, जनता आश्वस्त हुनुपर्छ ।”

उहाँले मतगणनाबारे जनता विश्वस्त हुनुपर्ने गरी सुरक्षाका विधिहरु अपनाउन अनुरोध गरिएको बताउनुभयो । उहाँले रातभर मतपेटिकाहरुको बाहिरै बसेर निगरानी गर्ने गरी दलहरुले स्वयमसेवकहरु खटाएको समेत जानकारी दिनुभयो । सांसद कृष्णभक्त पोखरेलले विगतको घटनाका कारण मतपेटिका र मतपत्रहरु सुरक्षित रहेको आभाष दिलाउन अनुरोध गरिएको बताउनुभयो । एकिकृत समाजवादी पार्टी चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लीले मतगणनाका क्रममा विवादहरु आउन नदिन सुरुमै समझदारी बनाइएको बताउनुभयो । पछि आउन सक्ने विवादबारे छलफल गरेरै दलहरुबीच सहमतिको अभिलेखिकरण भएको बताउनुभयो । कांग्रेस चितवनका सचिव सूर्य अर्यालले आवश्यक तयारी पुरा गर्न रातीदेखिनै मतगणना सुरु गर्न नसकिएको बताउनुभयो ।

भरतपुर महानगरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाताहरु छन् । स्रोतका अनुसार महानगर क्षेत्रमा ६७ दशमलव ५९ प्रतिशत मतदान भएको जनाइएको छ । महानगरका २९ वडाका ६५ मतदान स्थलका २ सय २ मतदान केन्द्रबाट ३ सय ७१ वटा मतपेटिकाहरु मतगणनास्थलको भण्डारण कक्षमा सुरक्षित राखिएको छ । मतगणनास्थलको सुरक्षा निकायले उच्च सुरक्षा दिएको छ । महानगरमा मेयरमा माओवादी केन्द्रका रेनु दाहाल, एमालेका विजय सुवेदी, स्वतन्त्र उम्मेदवार जगन्नाथ कँडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी र राप्रपाकी हिमला गुरुङबीच प्रतिस्पर्धा हुने देखिन्छ । महानगरको मेयरका लागि २७ र उपमेयरका लागि १० जना उम्मेदवारहरु छन् ।

– Kalikanews

तपाईको प्रतिक्रिया