चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सिरिजङ्घा गाउँपालिका शिक्षा शाखाका अनुसार २०८१ को एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने एक÷एक जना छात्रछात्रा सम्मान गरिएको हो । गाउँपालिकाभित्रको विद्यालयबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल छात्रतर्फ सिनाम माध्यमिक विद्यालयका रोहित शङ्खर विश्वकर्मा (३.१८ जिपिए) सम्मानित हुनुभएको छ ।

यस्तै, छात्रातर्फ एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल तेल्लोक माध्यमिक विद्यालयका अनिसा लिम्बू (२.९७ जिपिए) सम्मानित हुनुभएको छ । सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र विश्वकर्मालाई ३० हजार रुपियाँ र उत्कृष्ट नतिजा ल्याउने छात्रा लिम्बूलाई २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र सम्मानपत्र प्रदान गरिएको छ ।

यसैगरी, कक्षा ८ को परीक्षमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल सिनाम माविका छात्र प्रसान्त भण्डारी (३.७४ जिपिए) र उत्कृष्ट नतिजा ल्याउने सिनाम माविकै मेलिस्का माझी (३.७२ जिपिए) सम्मानित हुनुभएको छ । सर्वोत्कृष्ट नतिजा ल्याउने भण्डारीलाई १५ हजार र उत्कृष्ट नतिजा ल्याउने माझीलाई १२ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र सम्मान प्रदान गरिएको शिक्षा शाखाले जनाएको छ ।

त्यस्तै, सिरिजङ्घा गाउँपालिकाले अन्तर पालिकास्तरीय वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगितासमेत सम्पन्न गरेको छ । ‘सिरिजङ्घामा पर्यटन, हाम्रो पहिचान’ भन्ने शीर्षकमा गरिएको वक्तृत्वकला प्रतियोगितामा फुङ्लिङ नगरपालिकाबाट सहभागी भानुजन माध्यमिक विद्यालयकी छात्रा विद्वता पोख्रेल प्रथम हुनुभएको छ ।

वक्तृत्वकलामा प्रथम हुन सफल पोख्रेलले २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनुभयो । यस्तै, सिरिजङ्घा गाउँपालिकाबाट सहभागी सिनाम माध्यमिक विद्यालयकी छात्रा देशिका अधिकारी दोस्रो हुनुभएको छ । मैवाखोला गाउँपालिकाबाट सहभागी छात्र उज्वल भट्टराई (मैवाखोला मावि) तेस्रो र पाथीभरा याङ्वरक गाउँपालिकाबाट सहभागी शुभेक्षा लिम्बू (थेचम्बु मावि) ले सान्तवना स्थान हासिल गर्नुभएको छ ।

वक्तृत्वकलामा दोस्रो हुनुभएका अधिकारी, तेस्रो भट्टराई र चौथो (सान्तवना) स्थान ल्याउने लिम्बूलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, हाजिरीजवाफ प्रतियोगितातर्फ सिरिजङ्घा गाउँपालिका प्रथम हुँदै २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र गरेको छ ।

हाजिरी जवाफमा फुङ्लिङ नगरपालिका दोस्रो, सिदिङ्वा गाउँपालिका तेस्रो र मैवाखोला गाउँपालिका सान्तवना भएको छ । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् । नौ स्थानीय तह रहेको जिल्लामा वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगितामा छ वटा स्थानीय तहले सहभागिता जनाएका थिए ।

सिरिजङ्घा गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ मा समावेश योजना तथा कार्यक्रमअनुसार उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान साथै वक्तृत्वकला र हारिजरी जवाफ प्रतियोगिता कार्यक्रम गरिएको उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले जानकारी दिनुभयो । सम्मान तथा प्रतियोगिता कार्यक्रमले विद्यार्थीको पठाइमा सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने अपेक्षा राखिएको उपाध्यक्ष डा. लिम्बूको भनाइ छ ।

तपाईको प्रतिक्रिया