अभिनेत्री आँचल शर्मा ले बिहीबार आफ्नो २९औँ जन्मदिन विशेष तरिकाले मनाएकी छन् । उनको जन्मदिनको अवसर पारेर बहुप्रतीक्षित फिल्म एक मुठी बादल को टिजर सार्वजनिक गरिएको हो, जसले दर्शकमाझ उत्सुकता थपेको छ । डेढ मिनेटभन्दा लामो टिजरमा आँचललाई केन्द्रमा राखिएको छ । टिजरको मुख्य आकर्षणका रूपमा उनले ‘पोम्पोईको फूल’ शीर्षकको भावनात्मक कविता वाचन गरेकी छन् । यही कवितामार्फत फिल्मको कथा र भावभूमिको झल्को दिन खोजिएको देखिन्छ ।

फिल्मकी निर्देशक सहारा का अनुसार उक्त कविता उनको बाल्यकालीन सम्झनासँग जोडिएको छ । सानो हुँदा हजुरआमाबाट सुन्ने गरेको त्यो कविता समयसँगै बिर्सिए पनि फिल्म सम्पादनको क्रममा पुनः स्मृतिमा फर्किएको उनले बताएकी छन् । अहिले भने यो कविता फिल्मको आत्माजस्तै बनेको छ ।

फिल्ममा ‘माइली’को मुख्य भूमिकामा देखिएकी आँचलका लागि यो परियोजना निकै विशेष रहेको छ । उनी भन्छिन्, “अन्य फिल्ममा म पात्र मात्रै हुन्छु, तर ‘एक मुठी बादल’मा म आफैंलाई प्रस्तुत गरेजस्तो लाग्छ । आफ्नै जीवनका भोगाइलाई पर्दामा उतार्न पाउँदा छुट्टै सन्तुष्टि मिलेको छ ।” आगामी जेठ १ गते प्रदर्शनमा आउने फिल्ममा आँचलसँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली, गौरव विष्ट, मनिष निरौला, अस्मिता गौतम र अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अभिमन्यु दीक्षितको लगानी रहेको छ भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन् । जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेलले समेत सहकार्य गरेका छन् । फिल्मको प्राविधिक पक्षमा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन र जानकी कडायतको भेषभूषा डिजाइन रहेको छ । नेपालमा भने यस फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

तपाईको प्रतिक्रिया