नयाँ वर्ष नजिकिँदै गर्दा चैत २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’ यतिबेला आफ्नो गीत–संगीतका कारण चर्चामा छ। विशेषगरी ‘धागोले बाटेको’ गीतले टिकटकदेखि युट्युबसम्म व्यापक लोकप्रियता हासिल गरिरहेको बेला निर्माण पक्षले बिहीबार दोस्रो गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ।
युवायुवतीबीचको प्रेम र आकर्षणलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ। गीतमा एसडी योगीकै संगीत तथा मौसम अर्यालको शब्द संयोजन गरिएको छ।
भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ। सियोन श्रेष्ठको कोरियोग्राफीमा मुख्य अभिनेता विराज भट्ट र नव-अभिनेत्री खुसी कार्कीले प्रस्तुत गरेको नृत्य दर्शनीय देखिन्छ। दैलेखका रमणीय स्थानमा छायांकन गरिएको गीतले दृश्यात्मक रूपमा पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ। कोरियोग्राफरबाट निर्देशक बनेका माइकल चन्दले निर्देशन गरेको यस फिल्ममा विराज र खुसीसँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, स्वर्गीय सुनिल थापा तथा प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय रहेको छ। चर्चित टिकटक क्रिएटर आयुषले यही फिल्ममार्फत अभिनय यात्रा सुरु गरेका हुन्।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताको भूमिकामा छन्। प्राविधिक पक्षमा मानकृष्ण महर्जन (डीओपी), श्री श्रेष्ठ (द्वन्द्व निर्देशन), बन्दे प्रसाद (सम्पादन) तथा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत रहेको छ। त्यस्तै गितको लोकप्रियता र प्रचारको गतिलाई हेर्दा ‘राम नाम सत्य’प्रति दर्शकको अपेक्षा झनै बढ्दै गएको देखिन्छ।










