नेपाली चलचित्रमा दर्शकले मन पराएका कलाकारको जोडीलाई पटक–पटक दोहोर्याउने चलन पुरानै हो तर पछिल्लो समय दयाहाङ राई र सिर्जना निङलेखुको जोडी पनि यही सूचीमा पर्दै गएको छ। फिल्म ‘कार्साङ’मार्फत पहिलोपटक सँगै देखिएका यी दुई कलाकार अब नयाँ फिल्म ‘मिरमिरे’मा पुन सहकार्य गर्दैछन्।
रोचक संयोग के छ भने, ‘कार्साङ’ र ‘मिरमिरे’ दुवै फिल्मका निर्देशक यम शेर्पा नै हुन् भने पहिलो फिल्ममा दयाहाङ र सिर्जनासँग काम गर्दा सहज अनुभव पाएपछि उनले दोस्रो फिल्ममा पनि उही जोडीलाई दोहोर्याएका हुन्। निर्देशक शेर्पाका अनुसार, एकपटक सँगै काम गरिसकेपछि कलाकारको काम गर्ने शैली र सोच बुझिसक्ने भएकाले पुन सहकार्य सहज हुन्छ।
उनले ‘मिरमिरे’को स्क्रिप्ट लेख्दादेखि नै दयाहाङ र सिर्जना दिमागमा रहेको बताए भने कथाको माग र ‘कार्साङ’मा काम गर्दाको सकारात्मक अनुभवका कारण उनीहरूसँग फेरि सहकार्य गरिएको उनको भनाइ छ। ‘मिरमिरे’मा दुवै कलाकारसँग काम गर्न अझ सहज र रमाइलो भएको पनि निर्देशक शेर्पाले बताए।
आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मिरमिरे’ बुवा–छोरीबीचको भावनात्मक सम्बन्धमा आधारित छ।त्यस्तै छोरीको मायाँ र बुवाको त्यागलाई केन्द्रमा राखिएको यस फिल्ममा दयाहाङ र सिर्जनासँगै प्रकाश सपूत, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेल तथा बाल कलाकार शाइसा गौचनको अभिनय रहेको छ।



































