छायांकनको तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ ले आफ्नो व्यङ्ग्यात्मक गीत ‘अरे ओ नेता जी’ सार्वजनिक गर्दै समसामयिक राजनीतिमाथि तीखो कटाक्ष गरेको छ। प्रतिनिधि सभा निर्वाचनको संघारमा रिलिज गरिएको यस गीतलाई निर्माण पक्षले अर्थपूर्ण सन्देशका रूपमा प्रस्तुत गरेको छ।
गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारी को स्वर सुन्न सकिन्छ। संगीत स्वयं अङ्कितकै रहेको छ भने शब्द युवराज काफ्ले ले लेखेका हुन्। भिडियोमा विजय बराल मुख्य भूमिकामा देखिएका छन्, जहाँ आम नागरिकले विकासबारे सोधेका प्रश्नमा नेताले दिने गोलमटोल र टालटुले जवाफलाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको छ। ‘यही हो विकास’ भन्दै देखाइने प्रवृत्तिमाथि गीतले सटिक चोट गरेको छ।
फिल्मको लेखन, निर्माण तथा निर्देशन आकाश बराल र साजन काफ्ले ले संयुक्त रूपमा गर्दैछन्। कथा राजन भुसाल ले लेखेका हुन् र उनी स्वयं फिल्ममा अभिनय गर्दैछन्। कार्यकारी निर्मातामा मोती कार्की रहेका छन्। छायांकन निशाल पौडेल ले सम्हाल्नेछन् भने सम्पादन चानस मगर ले गर्नेछन्।
मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा भने निकै रोचक छ। सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नआइपुग्दासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ पुर्याइन्छ। यही घटनाबाट उत्पन्न हुने सामाजिक, भावनात्मक र व्यङ्ग्यात्मक परिस्थितिलाई फिल्मले प्रस्तुत गर्नेछ।
निर्देशकद्वयका अनुसार फिल्म केवल फ्रिज गाउँसम्म पुर्याउने प्रसंगमा सीमित नभई लाइट कमेडी शैलीमा समाजका यथार्थलाई चित्रण गर्ने प्रयास हो। ‘अरे ओ नेता जी’ गीतमार्फत फिल्मले सुरुवातमै दर्शकलाई सोच्न बाध्य पार्ने संकेत दिएको छ ।










