चर्चित गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरिएको करिब डेढ मिनेट लामो टिजरले फिल्मको कथावस्तु, केन्द्रीय द्वन्द्व र कथाको भावनात्मक पाटोलाई झल्काउने प्रयास गरेको छ। टिजरमा विशेष गरी वैवाहिक सम्बन्धमा उत्पन्न हुने शंका र त्यसले निम्त्याउने उतारचढावलाई केन्द्रमा राखिएको देखिन्छ। यसले प्रेम, विश्वास र सम्बन्धभित्र लुकेका जटिल भावनाहरूलाई प्रस्तुत गर्ने संकेत दिन्छ।
टिजरको सुरुवातमा फिल्मका मुख्य जोडी विजय बराल र वर्षा राउतबीचको प्रेम सम्बन्धलाई देखाइएको छ। उनीहरूको भेटघाट, नजिकिँदो सम्बन्ध र अन्ततः विवाहसम्मको यात्रा दृश्यहरूमा प्रस्तुत गरिएको छ। तर विवाहपछि भने उनीहरूको सम्बन्धमा शंकाका कारण संकट उत्पन्न भएको झल्किन्छ। यही द्वन्द्वले कथालाई अघि बढाउने आधार तयार गरेको संकेत टिजरले दिन्छ।
यद्यपि, टिजरको अन्त्यतिर पुनः उनीहरूबीचको रोमान्टिक क्षण देखाइन्छ, जसले कथामा भावनात्मक उतारचढाव रहने संकेत गर्दछ। समग्रमा टिजरले प्रेम, विश्वास र सम्बन्धको जटिलताबीचको संघर्षलाई मुख्य विषयवस्तु बनाएको झल्को दिन्छ। प्रकु पाण्डेयको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा विजय बराल र वर्षा राउतका साथै मेक्सम गौडेल, नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री र राज पङ्गेनीलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। आगामी बैशाख २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। सह–निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।
फिल्मको छायांकन महेश पौडेलले गरेका छन् भने सम्पादन रोमी मोजेजको रहेको छ। रङ्ग संयोजन कृष्ण भण्डारीले गरेका छन् भने ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ।










