निर्देशक लक्ष्मण सुनारको बहुप्रतीक्षित तेस्रो फिल्म ‘परालको आगो’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको चार मिनेटभन्दा लामो ट्रेलरले दर्शकलाई सम्बन्ध, संघर्ष र संवेदनाको गहिराइतर्फ डोर्याउँछ।

ट्रेलरमा दुई फरक परिवेशका विवाहित जोडीको कथा समानान्तर रूपमा प्रस्तुत गरिएको छ। एकातिर प्रकाश सपूत र सुहाना थापा नवविवाहित दम्पतीका रूपमा देखिन्छन्, जहाँ सुरुवातमा प्रेमको मिठास छ। तर, समयसँगै साना घरायसी विषयले जन्माएको असमझदारीले उनीहरूको सम्बन्धमा दरार ल्याउँछ। परिस्थिति यतिसम्म बिग्रन्छ कि सुहाना माइती फर्किन्छिन्, भने प्रकाश एक्लै घरायसी जिम्मेवारीसँग जुधिरहेको देखिन्छ।

अर्कोतर्फ, सौगात मल्ल र सृजना अधिकारीको जोडी आर्थिक रूपमा कमजोर भए पनि आपसी समझदारी र खुशीले भरिएको देखिन्छ। सौगातले ‘जुठे’ नामक दमाईं पात्रको भूमिका निभाएका छन्, जसले समाजमा महिलाप्रति सम्मान र समानताको सन्देश बोकेको छ। उनको चरित्र सरल तर गहिरो प्रभाव पार्ने खालको देखिन्छ। ट्रेलरले प्रेम र द्वन्द्वबीचको सूक्ष्म सन्तुलनलाई दृश्यभाषामार्फत प्रभावशाली ढंगले उतारेको छ। यसले दर्शकलाई सम्बन्धभित्रको यथार्थ र भावनात्मक उतारचढाव महसुस गराउँछ।

आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्ममा किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया र रेनु न्यौपाने लगायत कलाकारहरूको पनि अभिनय रहेको छ। हरिओम सिने मेकर्सका सुशील पोखरेलको लगानी रहेको फिल्ममा सुशील देवकोटाको लेखन छ।

विशेष कुरा के भने, फिल्म आधुनिक कथाका प्रणेता गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’बाट प्रेरित छ, जसले कथामा साहित्यिक गहिराइ थपेको छ। संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा रामजी लामिछानेको नृत्य निर्देशनले फिल्मलाई प्राविधिक रूपमा मजबुत बनाएको संकेत ट्रेलरमै देखिन्छ। समग्रमा, ‘परालको आगो’ केवल एउटा प्रेमकथा होइन, सम्बन्धको यथार्थ चित्रण गर्ने संवेदनशील सिनेमाको रूपमा प्रस्तुत हुने संकेत ट्रेलरले स्पष्ट दिएको छ।

तपाईको प्रतिक्रिया