नेपाली साहित्यका प्रख्यात कथाकार गुरुप्रसाद मैनाली को ‘नासो’ कथासङ्ग्रहमा समावेश चर्चित कथा ‘परालको आगो’बाट प्रेरित फिल्म अहिले देशभर प्रदर्शनमा आएको छ। शुक्रबारबाट औपचारिक रूपमा प्रदर्शनमा आएको यो फिल्मले एकल रिलिजको अवसर पाउँदै सयभन्दा बढी शो हासिल गरेको छ, जुन आफैंमा सकारात्मक संकेत मानिएको छ।

काठमाडौंसहित मुख्य शहरहरूमा अग्रिम टिकट बुकिङ राम्रो देखिएकाले फिल्मको सुरुवाती व्यापार सन्तोषजनक हुने अपेक्षा गरिएको छ। यद्यपि, फिल्मको दीर्घकालीन सफलता भने दर्शकको मुखबाट आउने प्रतिक्रिया र ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ। पहिलो दिनका दर्शकले दिने प्रतिक्रिया नै यसको बक्स अफिस यात्राको दिशा तय गर्ने मुख्य आधार बन्ने देखिन्छ।

सोलो रिलिज र सप्ताहन्तको सार्वजनिक विदाले पनि फिल्मलाई व्यापारिक रूपमा अनुकूल वातावरण दिएको छ। यही अवसरलाई सदुपयोग गर्न निर्माण टिम सक्रिय रूपमा हल भ्रमणमा निस्किएको छ। शुक्रबार बिहान कलाकारहरू प्रकाश सपूत, सुहाना थापा र सिर्जना अधिकारी भक्तपुरस्थित क्यूएफएक्स हलमा पुगेर दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए। पहिलो शोपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको निर्माता सुशील पोखरेलले जानकारी दिएका छन्।

लक्ष्मण सुनार को निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। सुशील देवकोटाले लेखेको कथा-पटकथा र संवादमा आधारित फिल्मले श्रीमान,श्रीमति बीचको सम्बन्ध, द्वन्द्व र मनोविज्ञानलाई मुख्य विषय बनाएको छ।

तपाईको प्रतिक्रिया