वैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘परालको आगो’ले पहिलो दिनमै उत्साहजनक व्यापार गर्दै सुखद सुरुवात गरेको छ। निर्माण पक्षका अनुसार फिल्मले ओपनिङ डेमा करिब ३७ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै कुल आम्दानी ३८ लाख नजिक पुर्‍याएको छ। निर्माता सुशील पोखरेलले पहिलो दिनको व्यापारलाई सन्तोषजनक मान्दै दर्शकको उपस्थिति दिनानुदिन बढिरहेको बताए। उनका अनुसार दोस्रो दिनदेखि हलहरूमा दर्शकको चाप अझै तीव्र भएको छ, जसले आगामी दिनमा फिल्मको व्यापार थप बलियो हुने संकेत दिएको छ। “ओपनिङ राम्रो रह्यो, अहिले दर्शकको संख्या झन् बढ्दो छ,” उनले प्रतिक्रिया दिए।

निर्देशक लक्ष्मण सुनारले चर्चित साहित्यिक कथालाई पर्दामा उतार्दा मूल भावनालाई जोगाउने प्रयास गरिएको उल्लेख गरे। उनले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको जानकारी दिए। वितरक रोहित कट्टेलका अनुसार पनि फिल्मप्रति दर्शकको उत्साह उल्लेखनीय देखिएको छ र अधिकांश शोहरूमा दर्शकको उपस्थिति क्रमश बढिरहेको छ।

प्रख्यात साहित्यकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी र रेणु न्यौपाने लगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, बाल कलाकार मन्जिला बानियाँको अभिनय विशेष रूपमा प्रशंसित भएको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। निर्माता पोखरेल स्वयं हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन्।
फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन् भने छायांकन संकल्प भुजेलले गरेका छन्। कोरियोग्राफी रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजन कनाल कँवरले सम्हालेका छन्। प्राविधिक पक्षमा समिर मिया र सत्यम रानाको भिएफएक्स, साहिल खानको टिजर/ट्रेलर सम्पादन, मुकेश शाहको मिक्सिङ तथा नगेन्द्र घिमिरेको निर्माण संयोजन रहेको छ।
संगीततर्फ शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको योगदान रहेको फिल्ममा पाश्र्व संगीत किरण तुलाधरले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन्।

आरआर फिल्म्सले वितरण गरेको यस फिल्मको डिजिटल अधिकार ओएसआरसँग रहेको छ। उल्लेखनीय छ कि ‘परालको आगो’ गुरु प्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश चर्चित कथाबाट प्रेरित हो, जसको यसअघि पनि चलचित्र रूपान्तरण भइसकेको थियो।

तपाईको प्रतिक्रिया