यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई यतिबेला तिहारको रमझमले छोएको छ । तिहारको टीका लगाउन र लगाइदिन उनीहरूले तयारी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई शुभसाइतमै राष्ट्रपति भवन शीतल निवासमा टीका लगाइदिने शीतल निवासले जानकारी दिएको छ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई बहिनीको हातबाट टीका थाप्ने तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीलाई टीका लगाइदिन झापामा रहेकी बहिनी कौशल्या कोइराला र चितवनमा रहेकी अर्की बहिनी विष्णुकुमारी ढकाल काठमाडौँ आइसकेका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बरखीमा छन् । गतवर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको जूठो नसकिएकाले उनले यसवर्ष टीका थाप्ने छैनन् । त्यसो त प्रचण्डले तिहारमा कहिल्यै टीका लगाउँदैनन् । यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ज्वाइँको निधन भएका कारण यसपटक तिहारको कुनै कार्यक्रम हुने छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमै तिहार मनाउँदै छन् । देउवाले विगतमा जस्तै यसवर्ष पनि बहिनी सुशीला खड्काको हातबाट टीका लगाउने उनको सचिवालयले जानकारी दिएको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बहिनी बसुधा पोखरेलको हातबाट टीका लगाउनेछन् । त्यस्तै झलनाथ खनालले भने भक्तपुरमा रहेकी जेठी दिदी यशोधादेवी आचार्य र काठमाडौमा रहेकी बहिनी कुसुम खनालको हातबाट शुभसाइतमै टीका थाप्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया