इटहरी । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू भएको छ ।

पहिलो दिन मुख्य विधिअन्तर्गत (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने विश्वास रहेको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोबस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ । छठको पहिलो दिन व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्दछन् । पर्वको दोस्रो दिन खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ ।

गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी त्यहि प्रसाद ग्रहण गर्छन् । यस दिनपछि वर्तालुले पूर्ण व्रत लिनुपर्दछ । तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई बर्तालुले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि वर्तालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा वर्तालुले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले सङ्घीय राजधानी काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ । यो पर्व नै यस्तो पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका नरनारी सबै भेला हुन्छन् । यसले एक–आपसमा नजिकिने मौका दिन्छ । छठ पर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढा–टाढा बसेका व्यक्तिहरू पनि छठ पर्व मनाउन आफ्नो घर फर्कने गर्दछन् । छठ पर्वले पारिवारिक मेल र आत्मीयता अभिवृद्धिको अवसर समेत प्रदान गर्दछ ।

तपाईको प्रतिक्रिया