यस वर्ष दर्शकबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘आ बाट आमा’ को दोस्रो श्रृंखला निर्माण हुने भएको छ। अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा एक पोस्टर सार्वजनिक गर्दै ‘आ बाट आमा २’ निर्माणको घोषणा गरिएको थियो। अहिले निर्देशक चन्द्र पन्त कलाकार अनुबन्धनको प्रक्रियामा जुटेका छन्।
सोमबार निर्देशक पन्तले अभिनेता पल शाह र अभिनेत्री विपना थापासँग लिखित सम्झौता गरेका छन्। पहिलो भागमा आमा–छोराको भूमिकामा देखिएका यी दुई कलाकार दोस्रो श्रृंखलामा पनि सोही भूमिकामा देखिने जनाइएको छ।
फिल्ममा अनुबन्धित भएपछि अभिनेत्री विपना थापाले दोस्रो भागमा काम गर्दा अझ बढी जिम्मेवारी महसुस भएको बताइन्। उनका अनुसार पहिलो भागलाई दर्शकले माया गरेकाले अब त्यसलाई पार गर्दै अझ उत्कृष्ट फिल्म बनाउनुपर्ने चुनौती टिमसामु रहेको छ।
यस्तै, अभिनेता पल शाहले आफूलाई पुनः विश्वास गरेर फिल्ममा अवसर दिएकोमा निर्देशक चन्द्र पन्तप्रति आभार व्यक्त गरे। उनले आफू केही सीमित टिमसँग मात्र नजिक हुने बताउँदै चन्द्र पन्तसँगको सहकार्यलाई विशेष माने। “उहाँले मलाई अभिभावकजस्तै साथ दिनुभयो। अब ‘आ बाट आमा २’मा पनि विश्वास गर्नुभएकोमा धन्यवाद,” उनले भने। फिल्मको छायांकन आगामी बैशाखबाट सुरु गर्ने तयारी गरिएको छ भने दशैंको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ। पल र विपनाबाहेक अन्य कलाकार भने अझै तय भइसकेका छैनन्।
पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायत कलाकारको पनि मुख्य भूमिका थियो। तीमध्ये उषा उप्रेती दोस्रो भागमा दोहोरिन सक्ने सम्भावना रहेको फिल्म निकट स्रोतले जनाएको छ।










