लामो समय देखी आफ्नो रङ्गमञ्चीय कर्मथलो बनाउँदै आएका कलाकार डेभिड बिष्ट अब नेपाली फिल्म क्षेत्रमा थप मजबुत उपस्थिती जनाउने तयारीमा छन् । उनी निर्देशक प्रकाश कर्णको आगामी बहुप्रतिक्षित फिल्म ‘जुबा’मा महत्त्वपूर्ण भूमिकाका लागि छनोट भएका छन् । फिल्मको तयारीस्वरूप यतिबेला डेभिड काठमाडौंमा भइरहेको ‘वर्कसप’मा व्यस्त छन् । अडिसन प्रक्रियाबाट छनोट भएका उनी आफ्नो भूमिकालाई लिएर निकै उत्साहित देखिन्छन् । डेभिडका अनुसार फिल्ममा उनको चरित्र मुख्य पात्र सरह नै प्रभावशाली रहनेछ ।
निर्देशक प्रकाश कर्णले पनि डेभिडको अभिनय क्षमताको प्रशंसा गरेका छन् । उनले भने, “हामीले कल्पना गरेको क्यारेक्टरलाई डेभिडले झन् जीवन्त र प्रभावशाली बनाएका छन् ।”
इटहरीस्थित ‘कलालय’सँग आबद्ध रहेर विगत ७ वर्षदेखि रंगमञ्चमा सक्रिय डेभिडलाई नेपाली रंगमञ्चका सशक्त कलाकारमध्ये एक मानिन्छ । अभिनयप्रति आफ्नो दृष्टिकोणबारे उनी भन्छन्, “मलाई रङमञ्च मेरो पाठशाला हो र अभिनय निरन्तर अभ्यास जस्तो लाग्छ ।”
उनले ‘सत्रु’, ‘रिफन्ड’, ‘बहुलकाजीको सपना’ र ‘योगमाया’सहित झण्डै १० वटा चर्चित नाटकमा अभिनय गरिसकेका छन् । रंगमञ्चसँगै फिल्म र छोटो चलचित्रमा पनि उनले काम गरिसकेका छन् । ‘तिनतारा’, ‘बलिदान’ र ‘विमान’ फिल्ममा अभिनय गरेका डेभिड ‘ज्याक्यस’, ‘पाँच हजार’ र ‘गाढा १७’ जस्ता छोटो फिल्ममा पनि देखिएका छन् ।
यसका साथै विभिन्न वेब सिरिज र डायनामिक ब्यान्डको म्युजिक भिडियो ‘भावनाका रंगहरु’मा पनि उनको अभिनय देख्न सकिन्छ ।
अस्त्र फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको **‘जुबा’**मा डेभिडसँगै स्टार अभिनेता सौगात मल्ल मुख्य भूमिकामा देखिनेछन् । फिल्ममार्फत नयाँ अनुहार सोफी धरेलले डेब्यु गर्दैछिन् भने अभिनेता सुधन पोखरेल पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन् ।
निर्माण टिमका अनुसार फिल्म यतिबेला प्रि–प्रोडक्सनको अन्तिम चरणमा पुगेको छ र केही दिनमै छायांकन सुरु गर्ने तयारी भइरहेको छ ।
फिल्मको कथा र विषयवस्तु पूर्ण रूपमा सार्वजनिक नभए पनि पोस्टर र क्यारेक्टर लुकका आधारमा ‘जुबा’ पुरानो समयको परिवेशमा आधारित प्रेम, संघर्ष र सामाजिक कथामा केन्द्रित हुने अनुमान गरिएको छ । फिल्मको कथा तथा स्क्रिनप्ले निर्देशक प्रकाश कर्णले लेखेका हुन् भने लेखनमा उनलाई वर्षा पौडेलले साथ दिएकी छन् । त्यस्तै नयाँ शैली र प्रस्तुतीका साथ निर्माण हुन लागेको यो फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन । छायांकन सुरु भएसँगै अन्य प्राविधिक विवरण सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । नेपाली फिल्म क्षेत्रभित्र भने ‘जुबा’लाई एक प्रतीक्षित परियोजनाका रूपमा हेरिएको छ ।










