काठमाडौं, १६ मंसिर । गत महिना भारतको केरलास्थित विवादित सबरीमाला मन्दिरमा प्रवेश गर्ने असफल प्रयास गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । अश्लीलता प्रदर्शन गराउने खालको एक तस्वीर पोस्ट गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो । ३२ वर्षकी रेहाना फातिमा नामकी ती युवतीले सवरीमाला मन्दिर जाने समयमा फेसबुकमा आफ्नो एक सेल्फी पोष्ट गरेकी थिइन् । उक्त तस्वीरमा उनले आफ्ना तिघ्रा देखाएकी छन् ।

टेलिकम टेक्निसियनको रुपमा काम गर्ने ती युवती मोडेल पनि हुन् । गत अक्टोबरमा एक महिला पत्रकारसँगै रेहाना सबरीमाला मन्दिर पुगेकी थिइन् । उनी मन्दिरको मुख्य द्वारसम्म पुगेकी थिइन्, तर भक्तजनको विरोधका कारण उनी मन्दिरभित्र छिर्न पाइनन् । स्मरणरहोस् सबरीमाला मन्दिरमा रजश्वला हुने उमेरका किशोरी तथा भैसकेका महिलाहरु अर्थात् १० देखि ५० वर्ष उमेरका महिलाको लागि प्रवेश निषेध छ ।

गत सेप्टेम्बरमा उक्त मन्दिरमा सबै उमेरका महिलालाई प्रवेश दिनका लागि भारतको सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । तर स्थानीय मानिस तथा भक्तजनहरुले उक्त आदेशको उल्लंघन गरिरहेका छन् । मन्दिर छिर्ने असफल प्रयास गर्ने ती युवती गत मंगलबार कोच्चीस्थित आफ्नै कार्यालयबाट पक्राउ परिन् ।

धार्मिक भावनामाथि खलल पूराएको आरोप उनीमाथि रहेको छ । उक्त तस्वीरमा उनी कालो कपडामा रहेकी छिन् । उनको निधारमा चन्दन लगाइएको छ भने तल्लो भागका छोटा कपडाका कारण तिघ्रा देखिएका छन् । उनको उक्त तस्वीरले सबरीमाला मन्दिरका भगवान अर्थात् स्वामी अयप्पाको मजाक उडाएको र धार्मिक भावनामा चोट पूराएको आरोप लगाइएको छ । उनीमाथि अश्लीलता प्रदर्शन गरेको अभियोग पनि रहेको छ ।

तपाईको प्रतिक्रिया