रुपक कुलाल, काठमाडौं । गत पुस ४ गते पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – २ की कमला चौधरी घासदाउरा गर्न श्रीमान सुनील चौधरीसँग जंगलतिर हिडेकी कमला एकाएक हराइन् । श्रीमती हराएपछि सुनिलले कमलालाई खोजी गरे । जंगलभर चहारे तर, कमलालाई कतै फेला पार्न सकेनन् ।

हराएको १३ दिन पछि अर्थात् माघ १७ गते चिसापानी जंगलमा घांसदाउरा गर्न गएका महिलाहरुले एक महिलाको शव भेटेको खबर प्रहरीकहाँ पुग्यो । खबर पाउनासाथ घटनास्थलमा प्रहरी पुग्यो । घटनास्थलमा पुग्दा छरछिमेकदेखि प्रहरीले समेत शवको पहिचान गर्नतिर लागे । छरछिमेकले बताएअनुसार त्यो शव थियो– पुस ४ गते हराएकी २१ वर्षीया कमला चौधरीको ।

कमला चौधरीको शव भेटिएको घटनास्थल हेर्दा पाशविक तरिकाले निर्मम हत्या गरेको प्रष्ट देखिन्थ्यो । प्रहरीका अनुसार कमलाको शरीरको तलतिर बस्त्रसमेत थिएन । घटना गम्भीर प्रकृतिको त थियो नै, कमलाका माइतीपक्षको दबाबपछि प्रहरीको अनुसन्धानमा श्रीमान सुनील नै पहिलो पात्र देखिए । शव भेटिएपछि मृत्यु शंकास्पद देखिएको भन्दै परिवारजनसँग कोही कसैप्रति शंका छ कि भनेर सोध्दा सुनीलको परिवारले बाहिरका कोहीप्रति शंका देखाएनन् । सुनीललाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानमा जे कुरा खुल्न आयो, त्यसपछि भने प्रहरीनै आश्चर्यमा प¥यो ।

कसरी भयो कमलाको हत्या ? प्रहरी अनुसन्धानमा खुल्यो कि, १४ वर्षकै उमेरमा प्रेम विवाह गरेका सुनील चौधरी र कमला चौधरीबीच पछिल्लो समय मनमुटावको आगो दन्किरहेको थियो । सुनीललाई कमलाले खर्च बढी गरेको, शंकास्पद गतिविधि बढाएको कारण विश्वास टुटिरहेको थियो । उनीहरुबीच समय–समयमा झगडा हुनु सामान्य बन्दै थियो । प्रहरीलाई दिइएको बयानमा सुनीलले यस्तै भनेको प्रहरीको भनाई छ । त्यति मात्रै होइन, सुनीलले प्रहरीलाई भनेका छन् कमला परपुरुषसँग लागेको अनुमानपछि सम्बन्धमा दरार आयो ।

सुनीलले बयानक्रममा भनेका छन् कमलालाई फकाएर जंगल लगेँ । र, त्यति नै खेर कमलाको मोबाइलमा फोन आयो । कस्को फोन भनेर सोध्दा कमलाले झर्किदै तिमीलाई किन चाहियो, चिन्दैनाैँ भनेपछि रिसको आवेगमा श्रीमतीको हत्या गरेँ । घर फर्किएपछि कमला जंगलबाटै हराएको अभिनय गरे । र, खोजी गर्दा नभेटिएको बताए । सुनीलले घटना तोडमोड गरी लुकाउन अनेक प्रयास गरेको प्रहरीको भनाइ छ । पारिवारिक मनमुटाव र परपुरुषसँग लागेको शैकैशंकामा जलेर सुनीलले कलिलो उमेरको प्रेमविवाहमा आफैँले आगो झोसे, जीवन बर्बाद पारेका छन् । घरबाट श्रीमान्सँग घाँसदाउरामा हिँडेकी कमलाको जंगलमा निर्मम हत्या भयो । सुनीलले हत्या मात्रै गरेनन्, प्राणप्यारी कमला हराएको नाटक पनि गरे ।

परस्त्रीसँगकाे सम्बन्धले गयाे कमलाकाे जीवन : जिल्ला प्रहरी कार्यालयल नवलपरासीका प्रमुख राजेन्द्र प्रसाद भट्टका अनुसार, परपुरुषसँग कमला होइन, सुनील परस्त्रीसँग लागेको र प्रेम सम्बन्ध सफल पार्न कमलाको हत्या गरेको उहाँले बताउनुभयो ।

सुनीलले श्रीमती हत्या गरेपछि ती महिलालाई ‘मैले मेरी बूढी मारेँ भन्ने सूचना मोबाइलमा एसएमएस समेत पठाएको भट्टले बताउनुभयो । एसएमएसकै आधारमा ती महिलालाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । श्रीमान –श्रीमती बीचमा यस्तो सम्बन्धले एउटा प्रेमिल जिन्दगी खरानी भएको छ । एउटा जिन्दगी जेलमा पश्चात्तापमा जल्नेछ, कोपिला जस्ता दुई नाबालक जिन्दगीले अभिभावक गुमाएका छन् । अर्थात् शंका र असमझदारीले एउटा परिवारको जिन्दगी पीडाको सागर र किनारा भएका छन् ।

तपाईको प्रतिक्रिया