विराटनगर / नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गत कोशी प्रादेशिक कार्यालय, विराटनगर वितरण केन्द्रले ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याउने जनाएको छ।
बर्जु गाउँपालिकाको भिमपुरस्थित निर्माणाधीन १३२/३३ केभी सबस्टेशनदेखि भिमपुर बजार, केशलिया खोला, रिङरोड दक्षिण, विराटनगर–१६ र दरैया हुँदै ३३/११ केभी रानी सबस्टेशनसम्म निर्माण सम्पन्न भएको उक्त प्रसारण लाइन २०८२ चैत १४ गतेदेखि ३३ केभी क्षमतामा विद्युत प्रवाह गरी सञ्चालनमा ल्याइने केन्द्रले जानकारी दिएको छ।
प्राधिकरणले सर्वसाधारणलाई लाइन तथा पोलमा नचढ्न, तार तथा पोलमा कुनै वस्तु नछुन, स्टे तारमा पशु नबाँध्न तथा जोखिम संकेत गरिएका सामग्रीबाट टाढा रहन अनुरोध गरेको छ। साथै, बालबालिकालाई पनि यसबारे सचेत गराउन आग्रह गरिएको छ।
लाइन सञ्चालनपछि कुनै स्थानमा आगोको झिल्का वा अन्य जोखिम देखिएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउन तथा दिइएका ९८५२०२१७२५ / ९८४४११५१४३/९८४२१०१६९६ सम्पर्क नम्बरहरूमा खबर गर्न अनुरोध गरिएको छ।











