काठमाडौं। गोर्खा सैनिक विष्णु श्रेष्ठको जीवनीबारे भारतीय गायक एवं नायक हिमेश रेशमियाले फिल्म बनाउने भएका छन् । उनले गोर्खा सैनिक अधिकारी विष्णुको बायोपिक बनाउने राइट्स लिएका छन् । फिल्मको कास्ट फाइनल नभइसकेपनि विष्णुको बायोपिकको अनुसन्धान र पटकथाको कल्पना प्रफुल्ल शाहले गरेका छन् ।

को हुन् विष्णु श्रेष्ठ ?

सन् २०१० को सेप्टेम्बर दुई तारिखमा ३५ वर्षे गोर्खा सैनिक गोरखपुरबाट राँची जाँदै थिए । उनी मौर्य एक्सप्रेसमा यात्रा गरिरहेका थिए । डाकाहरुले रेल बाटोमा नै कब्जा गरेर यात्रुहरुसँग भएको पैसा, गरगहना, मोबाइललगायतका सामग्री लुट्न थाले ।

जब डाका श्रेष्ठ भएठाउँ पुगे, उनी सुतिरहेका थिए । डाकाहरुले झक्झकाएर उठाउँदा उनी आफूसँग भएको सामग्री दिन तयार भए तर उनीसँगै बसेकी १८ वर्षे युवतीलाई डाकाहरुले बलात्कार गर्न खोजे तब उनी चुप बस्न सकेनन् । उनले आफूसँग भएको खुकुरी निकाले र डाकामाथि जाइलाग्न थाले ।

श्रेष्ठले टाइम्स अफ इन्डियालाई भने, ‘म एक सैनिक हुँ र देशको जनताको सुरक्षाका लागि मैले तलब खाने गर्छु । मैले डाकाहरुको मनोमानी चुप लागेर हेर्न सकिनँ । मैले आफूसँग भएको खुकुरी निकालेँ र डाकाहरुलाई आक्रमण गर्न थालेँ । मैले तीनजनालाई छप्काएँ । आठ जना उठ्नै नसक्ने गरी मुर्छित भए । त्यसपछि अन्य डाका भागे ।’

डाकासँगको झडपमा विष्णुको बायाँ हातमा चोट लाग्यो । दुई महिनाको उपचारपछि उक्त घाउ निको भयो । पुलिसले डाकाहरुलाई समात्न सफल भयो । उनीहरुबाट चार लाख नगद, सुनका गहना, मोबाइल फोन, ल्यापटप र अन्य सामग्री बरामद गरियो ।

तपाईको प्रतिक्रिया