चैत २७, काठमाडौं । फ्यानको हिट लिस्टमा रहेका फिल्मी जोडी पूजा शर्मा र आकाश श्रेष्ठ लण्डनबाट फर्किएका छन् ।

चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को लण्डनको सूटिङ सकाएर पूजा–आकाश सहित निर्माण टिम काठमाडौं फर्किएको हो ।

लण्डनमा रहँदा पूजाले बलिउड अभिनेता वरुण धावणसँगको तस्विर सेयर गरेकी थिइन् । उनलाई वरुणले शिरमा चुम्बन समेत गरेका थिए । यो तस्विर विभिन्न टिकाटिप्पणी सहित सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भ्रमण र सूटिङबारे विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूजाले चलचित्रमा आफूले सक्दो मेहनत गरेको बताइन् । ‘हामीले सक्दो मेहनत गरेका छौं । चलचित्र निकै राम्रो बनेको छ ।’

यस्तै उनले वरुण धावणसँगको तस्विरका बारेमा पनि स्पष्टिकरण दिएकी छिन् । ‘उहाँहरु (वरुण) बस्ने होटल र हामी बसेको होटल एउटै थियो । उहाँहरुको इन्डक्ल्यापको समयमा हामी छायांकन सकेर बसेका थियौं । त्यसैले हाम्रो भेट भयो । यसमा आलोचना गर्नुपर्ने कुनै कारण छैन ।’

चलचित्रको ९५ प्रतिशत छायांकन लण्डनमा सकिएको र बाँकी छायांकन नेपालको मुस्ताङ र भारतमा हुने निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रमा नायिका पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यको मुख्य भूमिका रहेको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ काे टिम छायांकनका लागि माघ २४ गते लण्डन प्रस्थान गरेको थियो ।

तपाईको प्रतिक्रिया