काठमाडौं– अहिले सांगीतिक बजारमा लोकप्रिय लोकगायिका विष्णु माझी सार्वजनिक हुने ‘गसिप’ चलिरहेको छ। १० वर्षभन्दा बढी समयदेखि ‘मिडिया’सँग लुकेकी यी गायिका भौतिक रुपमा बाहिर आउँदा कसरी सार्वजनिक होलिन्? कस्ती भइसकेकी होलिन्?

उनले धेरै वर्षपहिले दोहोरी गाएको भिडियो क्लिप युट्युबमा देखिन्छ, जहाँ उनी अलि लजालु स्वभावकी प्रतित हुन्छिन्। हल्का श्याम वर्णकी यी गायिकाले अहिले लज्जाको घुम्टो उघारिन् कि उघारेकी छैनन् होला?

सञ्चारमाध्यममा उनी सार्वजनिक हुने ‘गसिप’सँगै स्वभाविक रुपमा गायिका माझीबारे यस्ता प्रश्न र जिज्ञासाहरु सतहमा आउँछन् नै। तर, उनी र उनका श्रीमान् सुन्दरमणि अधिकारी जो लोकसंगीतमै क्रियाशील छन्, उनले साँच्चै गुमनाम जीवनबाट बाहिर ल्याउने सोच बनाएकै हुन् त?

हामीले उनी निकट एक लोकसंगीतमा सक्रिय गायकलाई सोधेका थियौं। ‘खै, उनीहरु अहिले नै सार्वजनिक हुने सोचमा छन् जस्तो लाग्दैन। तर मिडियामा निरन्तर रुपमा गायिका माझीलाई बन्धक बनाइएको खबर आएपछि भने यसबारे यो जोडीले केही न केही सोचेको हुनुपर्छ,’ उनी भन्छन्, ‘तपाईंहरुलाई मैले नाम खुलाएर यति मात्र भनेको खबर थाहा पाए भने सुन्दरमणि मसँग रिसाउछन्।’

लोक गायनको समकालमा सबैभन्दा राम्रो आवाजकी धनी र सबैभन्दा महँगी गायिका हुन् विष्णु माझी। उनले एउटा गीत गाएको पारिश्रमिक एक लाख रुपियाँसम्म लिन्छिन्। उनका दर्जनौं गीतहरु ‘सुपर–डुपर’ छन्। यद्यपि अरु कलाकारझैं उनलाई स्वदेश तथा विदेशका स्टेज कार्यक्रममा देख्न पाइँदैन।

गीत रेकर्डिङका बेला स्टुडियो पुग्दासमेत कसैसँग बोलचाल नगरी विष्णु गुपचुप शैलीमा आफ्नो काम फत्ते गर्ने गर्छिन्। यी गायिका घरमै बन्धक बनाइएको समाचार आएपछि केही महिनापहिला उनी र उनका श्रीमान् स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सफाइ दिन जिल्ला प्रहरी कार्यालय पुग्नुपरेको थियो।

त्यतिबेला पनि यो जोडीले मिडियाबाट बच्न आफ्नो अनुहार नचिनिने गरी ढाकेर प्रहरी कार्यालयमा उपस्थित भएको थियो। तर पछि प्रहरीले नै उनीहरुबारे सतहमा आएका हल्लाहरु पुष्टि गर्ने कुनै आधार नरहेको बताएको थियो। प्रहरी अधिकृतले भनेका थिए, ‘उनीहरुको निजी जीवन कसरी जिउने भन्ने हक उनीहरुमै निहित रहेकाले बाहिर आएको हल्लामा सत्यता छ भन्ने लागेन।’

‘निरन्तर रुपमा नेपाली मिडियाले सुन्दरमणि-विष्णुबारे सोधखोज गरिरहेकाले उनीहरुमा सार्वजनिक हुनुपर्ने दबाब सिर्जना हुँदै गएको अनुमान भने लगाउन सकिन्छ,’ सुन्दरमणि निकट ती गायकले भने।

तपाईको प्रतिक्रिया