काठमाडौं । गायक प्रकाश सपूतको गलबन्दी बोलको गीत र शम्भु राईको देउसी भैलो गीतको लय मिलेको भन्दै उत्पन्न विवाद प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयमा पुगे पनि दुबै सर्जकबीच मेलमिलाप गराउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिानले पहल भइरहेको जनाएको छ ।

प्रष्ठिानका अध्यक्ष बद्री पँगेनी र महासचिब सुवास केसीले सँयुक्त हस्ताक्षर गरी सोमबार विज्ञप्ति जारी गर्दै गल्बन्दीको विवादमा मेलमिलाप गराउने अन्तिम तयारी भएको जानकारी दिएका छन् ।

प्रष्ठिानले यो विषयलाई लिएर सामाजिक सञ्जालमा भइरहेका जातीय टिप्पणीप्रति आपत्ति जनाएको छ । कलाकार कुनै जात, धर्म, राजनीतिक दल र भूगोलको नहुने भन्दै जातीय टिप्पणी हुनु राम्रो नभएको प्रष्ठिानले जनाएको छ ।

प्रष्ठिानले प्रचलित कानुनअनुसार निर्णय गर्ने अधिकारी सक्रिय भएको भन्दै सामाजिक सञ्जालमा कसैमाथि सामाजिक सद्भाव खल्बल्याउने गरि टिप्पणी हुनु दुःखद् भएको जनाएको छ ।

गल्बन्दी बोलको भाका र देउसी भैलोको भाका मिलेको भन्दै गायक शम्भु राईले प्रकाश सपूतविरुद्ध प्रतिलिपी अधिकारअनुसार मुद्दा हालेका छन्।

यही विषयलाई लिएर प्रकाश सपूतमाथि जातीय आधारमा टिप्पणी भएको थियो । सामाजिक सञ्जालमा जातीय आधारमा टिप्पणी भएपछि सोमबारको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसद मीन विश्वकर्माले यो विषय उठाएका थिए ।

तपाईको प्रतिक्रिया