बलिउडकै चर्चित अनि प्रतिष्ठित फिल्मी अवार्ड इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) अवार्ड नेपालमा आयोजना हुने भएको छ । आज बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले यसबारेमा जानकारी दिएका हुन् । आइफा अवार्ड काठमाडौँमा हुने र त्यसको जिम्मा पर्यटन बोर्डलाई दिइएको जानकारी दिए । अगस्टको अन्तिम सातामा आयोजना हुने उक्त अवार्ड कार्यक्रमको सहआयोजक काठमाडौं महानगरपालिका हुने उनको भनाई छ । अवार्ड समारोह आयोजना गर्नका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको छ।

समितिमा पाँच वटा मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल एसोसिएसन अफ नेपालका प्रतिनिधि हुने छन्। अवार्ड कार्यक्रम नेपाल आर्मीको मुख्यालय अगाडि रहेको मैदानमा गर्ने तय भएको छ। अवार्डका लागि नेपाल आउँने कलाकार लगायतका टिमका लागि बस्ने व्यवस्था पर्यटन बोर्ड र महानगरले गर्ने बताईएको छ । बलिउडकै चर्चित अवार्ड नेपालमा आयोजना हुने भएपछि यसको चर्चा थप चुलिएको छ । किनकी प्रतिष्ठित अवार्ड आयोजना हुँदा अन्तराष्ट्रियरुपमा चर्चा हुनेछ भने नेपालमा बिदेशी फिल्मको सुटिङका लागि थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया