काठमाडौं । चैतको अन्तिमतिर डडेल्धुराबाट धनगढी हुँदै अमरगढी २ आइतेबजारकी निर्मला थापामगर परिवारलाई खबर नगरी काठमाडौं आउँछिन् । काठमाडौं आएर होटलमा काम सुरु गर्छिन् । सम्पर्कबिहीन भएपछि सीतालाई परिवारले खोज्न सुरु गर्छ । कतै नभेटिएपछि निर्मलाको परिवार काठमाडौं आउँछन् । काठमाडौं आएका निर्मलाको परिवारले प्रहरीमा उजुरी गर्छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार निर्मलाको परिवारले जेठको दोस्रो हप्तातिर परिसरमा उजुरी हालेका हुन् । खोज्ने क्रममा प्रहरीले निर्मलाले चलाउने पुरानो नम्बरको आधारमा नयाँ नम्बर पत्ता लागेको उनले बताए । नम्बर पत्ता लागेपछि प्रहरीले निर्मलाको परिवारलाई बोलाएर फोन गर्न लगाउँछन् ।

निर्मलाको बाबुले ९८१३९०….नम्बरमा फोन गरेलगत्तै रिसिभ हुन्छ । संवादको क्रममा उत्तताबाट ‘म कल्पना खड्का’ हो भन्ने जवाफ आउँछ । अनि निर्मलाको बाबुले मेरो छोरी खोई त भनेर प्रश्न गर्छन । फोन संवादकै क्रममा म तपाईको छोरीको साथी हो । हामी बनेपामा ३/४ जना सँगै बस्छौं । एकदिन मर्निङवाक जाँदा छोरीलाई ट्याक्सीले ठक्कर दिएको कुरा बताउँछिन् ।

ट्याक्सीले ठक्कर दिएको कुरा सुनाउने बित्तिकै सीताको परिवार त्रसित बन्छ । फोन संवादकै क्रममा उनले ‘तपाईंकी छोरीको उपचारको क्रममा बनेपास्थित शान्ति प्रिया अस्पतालमा मृत्यु भइसकेको’ भन्छिन् । झन निर्मलाको परिवार त्रसित हुन्छ । फेरि ती युवतीले परिवारसँग सम्पर्क हुन नसकेको कारण शव आफूले नै बुझेर दोलखाको लापिलाङ भन्ने ठाउँमा लगेर दाहसंस्कार गरेको भन्छिन् ।

प्रहरीले पनि फोन गर्छ । त्यही कुरा भन्छिन् । त्यसपछि प्रहरीलाई शंका लाग्छ – अर्काकी छोरीको शव उनीहरुले कसरी बुझे ? कहाँ लगेर जलाए परिसरले त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे पुगेर ट्याक्सी दुर्घटनामा मृत्यु भए/नभएबारे बुझ्छ । बुझ्दा न ट्याक्सी दुर्घटनामा मृत्यु भएको पाउँछ न बनेपामा शान्ति प्रिया अस्पताल नै भेट्छ ?

घटना यसरी मोडिन्छ… घटनाबारे प्रहरीले फरक तरिकाले अनुसन्धान थाल्छ । कल लोकेशनको आधारमा प्रहरीले ती युवतीलाई खोज्न सुरु गर्छ ।

‘शुक्रबार साँझ ती युवती कोटेश्वर चोकमा हिँडिरहेको पाइयो,’ परिसरका प्रवक्ता बोगटीले भने, ‘तत्कालै परिसरबाट टोली खटाएर ती युवतीलाई पक्राउ गर्यौं ।’

बाबुलाई देखाउँदा आफ्नै छोरी : सीताको परिवारलाई छोरीको दुर्घटनामा मृत्यु भयो भनेर बताउने ती युवती पक्राउ गरिसके पछि प्रहरीले निर्मलाको बाबुलाई परिसर बोलाउँछ । परिसर आएर बाबुले हेर्दा ती युवती आफ्नै छोरी हुन्छिन् । फोनमा उनले आवाज परिवर्तन गरेर बोल्ने गरेको डीएसपी बोगटीले बताए । निर्मला कोटेश्वमा कोठा भाडा लिई एक रेष्टुरेन्टमा काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । निर्मलाले आफ्नै परिवारलाई मरेको भनेर किन भनिन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रोत रातो पाटि

तपाईको प्रतिक्रिया